• १३ साउन २०८१, आइतबार

तनहुँमा परेन कुनै पनि उम्मेदवारविरुद्ध उजुरी

blog

अमरराज नहर्की
तनहुँ, असोज २४ गते । 
तनहुँबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा ६२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले दर्ता गरेको कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिका बमोजिम सोमबार बिहान १० देखि ३ बजेसम्म उम्मेदवार उपर उजुरी गर्न सकिने व्यवस्था थियो । तर, उक्त समयमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको उहाँले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहुँमा नौ जनाको स्वतन्त्र उम्मेदवारी परेकोमा चार जना महिला रहेका छन् ।

जिल्लामा प्रतिनिधिसभाको दुई सिट र प्रदेशसभाका लागि चार सिट गरी जम्मा छ जना उम्मेदवार निर्वाचित हुनेछन् । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र तनहुँ २ मा कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ  । त्यस्तै, नेकपा एमालेका तर्फबाट तनहुँमा १ मा एकबहादुर राना र तनहुँ ३ मा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ्गले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

यसैगरी, प्रदेश सभाका लागि गठबन्धनका तर्फबाट तनहुँ ‘क’मा कांग्रेसका अशोककुमार श्रेष्ठ र ‘ख’ मा नेकपा माओवादीका हरिबहादुर चुमान उम्मेदवार छन् । यो क्षेत्रमा एमालेका तर्फबाट ‘क’ मा निवर्तमान प्रदेशसभा सदस्य रामबहादुर गुरुङ्ग र ‘ख’मा नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका पूर्णबहादुर गुरुङ्ग उम्मेदवार बन्नु भएको छ ।

त्यस्तै, तनहुँ निर्वाचन क्षेत्र २ मा प्रदेशसभा सदस्यका लागि गठबन्धनबाट ‘क’ मा राजेन्द्रकेशरी न्यौपाने र ‘ख’ मा कांग्रेसका जिल्ला सभापति समेत रहेको जितप्रकाश आले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यस्तै, एमालेको तर्फबाट ‘क’मा श्यामराज महत र ‘ख’ मा निवर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल उम्मेदवार रहेका छन् । निर्वाचन कार्यालयले मङ्गलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।