• १३ साउन २०८१, आइतबार

सुर्खेत–कोहलपुर सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

blog

रत्न राजमार्ग अन्तर्गत सुर्खेत–कोहलपुर सडकखण्डको बिउरेनीमा अलपत्र सवारीसाधन । तस्बिर : नविन सुवेदी

नविन सुवेदी

सुर्खेत, असोज २४ गते । बुधबारदेखि परेको निरन्तर वर्षाका कारण आएको पहिरोले रत्न राजमार्ग अन्तर्गत सुर्खेत–कोहलपुर सडक खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ । आइतबारदेखि अवरुद्ध भएको सडक सोमवार दिउँसोसम्म पनि खुल्न सकेको छैन ।

वीरेन्द्रनगर –११, विउरेनी र हर्रे डाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । हर्रे डाँडामा पहिरो पन्छाइए पनि विउरेनीमा पहिरो खस्ने क्रम नरोकिएकाले सडक अवरुद्ध भएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पहिरो पन्छाउन एउटा मात्र डोजर प्रयोग गरिएकाले सडक खुलाउने काम सुस्त भएको यात्रुहरूको आरोप छ । पहिरोका कारण सडकमा सवारी साधन र यात्रुहरूको बाक्लो भिड लागेको छ । 

सुर्खेत–कोहलपुर सडक खण्डमा गएको पहिरो हटाउने कार्य निरन्तर भइरहेको कर्णाली प्रदेश प्रमुख प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले बताउनुभयो । सोमबार बिहान सुर्खेत बसपार्कबाट कोहलपुरतर्फ जाने गाडीहरू छुटेका छैनन् । चार दिनदेखि सुर्खेत–कोहलपुर सडक खण्डमा पहिरोले सडक अवरुद्ध हुँदै खुल्दै गरेको भए पनि आइतबार साँझदेखि पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा दशैं मनाएर फर्केका र कर्णाली भित्रिने नागरिकहरू बबई, छिन्चु लगायतका ठाउँमा अलपत्र परेको पीडितहरूले बताउनुभयो ।