• १३ मंसिर २०८१, बिहिबार

मृत्युको कारणसहितको विवरण सार्वजनिक गरिने

blog

काठमाडौँ, असोज २४ गते । राष्ट्रिय जनगणना–२०७८ को पूर्णविवरण सार्वजनिक हुँदा मृत्युको कारणसहित विवरण सार्वजनिक गरिने भएको छ। कुन कारणले मानिसको मृत्यु भएको हो भन्ने यकिन तथ्याङ्कसहित विवरण सार्वजनिक हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। यस अगाडिको जनगणनामा भने मृत्युका कारण खोजी गर्ने गरिएको थिएन।

विभागका निर्देशक ढुण्डिराज लामिछाने पूर्ण विवरण सार्वजनिक गर्दा जनगणनाले मानिसको सङ्ख्या मात्र नभई मृत्यु हुनुको कारणसहित खोजी गरी सार्वजनिक गरिने बताउनुभयो। 

उहाँका अनुसार जनगणनाको पूर्णविवरण सार्वजनिक हुँदा ५० वटा सूचक प्राप्त गर्न सकिन्छ। विभागले आगामी मङ्सिरभित्र जनगणना पूर्ण विवरण सार्वजनिक गर्ने गरी काम गरिरहेको छ। गत माघमा विभागले जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। जनगणनाको विस्तृत विवरणमा सामाजिक अवस्था, देशको भाषा, जाति, धर्म, अपाङ्गता भएका व्यक्ति, नागरिकको आर्थिक अवस्था, रोजगारीमा संलग्न व्यक्तिको अवस्था, बेरोजगार व्यक्तिको अवस्थालगायतका विवरण विस्तृत रूपमा आउनेछ। 

पूर्ण विवरण सार्वजनिक गर्दा एप्समार्फत जनगणनाको तथ्याङ्क सार्वजनिक गर्ने तयारी भएको उहाँले बताउनुभयो। केन्द्रले पूर्ण विवरण सार्वजनिक गरेकै दिन सबैले अनलाइनमार्फत तथ्याङ्क हेर्न सक्ने गरी एप्सको विकास गर्ने तयारी भइरहेको छ। विभागले जनगणनाबाट प्राप्त तथ्याङ्कलाई सरोकारवालाले अधिकतम प्रयोग गर्न सक्ने गरी तथ्याङ्क सार्वजनिक गर्नेछ। 

विभागले सङ्घ, प्रदेश र स्थानीय तहका गरी छुट्टाछट्टै प्रतिवेदन सार्वजनिक गर्नेछ। त्यस्तै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि सार्वजनिक गर्नेछ। स्थानीय तहका लागि सामाजिक आर्थिक सूचक निकाल्ने तयारी भइरहेको छ।