काठमाडौं, असोज २३ गते । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिंहले संविधानको मर्म अनुरुप सङ्घीय कानुनहरु बनाउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै नेपाली कांग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको सङ्घीय कानुनहरु बनाउन नसकिएको बताउनुभएको हो ।
उहाँले आगामी मङ्सिर ४ गतेको निर्वाचनबाट आउने संसद्ले संविधानको मर्म अनुरुप प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाई सङ्घीय कानुनहरु बनाउने बताउनुभयो । आफूले स्वास्थ्य तथा पर्यावरणको क्षेत्रलाई पनि ध्यान दिने पनि उहाँको भनाइ छ ।
सिंहले जनताका तमाम समस्याहरु सम्बोधन गर्नेगरी नेपाली कांग्रेस अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाली जनतालाइ पिरोलिरहेका तमाम समस्याहरु सम्बोधन गर्न सक्नेगरी हामी अगाडि बढ्छौँ । संविधानलाई केन्द्रमा राखेर संविधानको मर्म र भावना अनुसार सङ्घीयताको अधिकार अनुरुप प्रादेशिक सरकार स्थानीयमा जाने अधिकारहरु कम्युनिष्ट सरकारले दिन नसक्दा सङ्घीयताप्रति वितृष्णा छ, कमीकमजोरीलाई हटाएर संविधानको मर्म र भावना अनुसार आवश्यक सङ्घीय कानुनहरु बनाइनेछ ।’’
यसैगरी, नेकपा (एमाले) का तर्फबाट काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण पौडेलले आफ्नो क्षेत्र देशकै राजनीतिक इपीसेन्टर भए पनि सो अनुसारको अनुभूति गर्न नसकिएकाले आफ्नो उम्मेदवारी परेको बताउनुभयो । उहाँले आफू पार्टीको उम्मेदवार भएको भन्दै राष्ट्रियता र स्वाधिनताको मुद्दामा पार्टी स्पष्ट भएकाले आफूहरुले जनताको मत पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले राष्ट्रियता, स्वाधीनता र समृद्धिको कुरा सदनमा सशक्त रुपले उठाउने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका नेता रविन्द्र मिश्रले राजनीतिमा देखिएको विकृतिको जञ्जाल तोड्न आफूले उम्मेदवारी दिएको जानकारी दिननुभयो ।
नेता मिश्रले अर्थ राजनीतिक एजेण्डालाई ओझेलमा पनि पार्न नदिने धाराणा व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गराउनुपर्ने बताउनुभयो । उहाँले देशलाई दीर्घकालका लागि शान्त, स्थिर, स्वाधीन, सार्वभौमसत्तासम्पन्न बनाउन र विदेशी हस्तक्षेप रोक्न आफ्नो उम्मेदवारी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘देशको जुन विकृत राजनीति छ, विकृतिको जञ्जाल छ । त्यो नतोडी भएन । त्यो तोडिएन भनेदेखि यो देश यसैगरी अरु दशकौँ सघ्रिरहने सम्भावना देखेको छु । त्यसकारणले त्यो विकृतिको जञ्जाल तोड्नुपर्छ र यो देशलाई दीर्घकालका लागि शान्त, स्थिर, स्वाधिन, सार्वभौम सत्तासम्पन्न बनाउनुपर्छ । विदेशी हस्तक्षेप बढिरहेको छ । त्यसलाई रोक्नसक्ने क्षमता भएको नेतृत्व हामीसँग छैन ।’’
व्यवस्थित शहरीकरण, सम्पदा संरक्षण, व्यवस्थित बाटोघाटो, अतिक्रमित जग्गा र खोलाहरुको खाली गर्ने कुरा र प्रदूषण घटाउने कुरा पनि आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।
त्यस्तै, नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका रमेश खरेलले हालसम्म सदनमा कानुन बनाउने मानिस नगइ कानुन भत्काउने मानिसहरु गइरहेको टिप्पणी गर्नुभयो । उहाँले सदनको प्रतिष्ठा बढाउनका लागि कानुन बनाउने मानिस सदनमा पठाउनुपर्ने बताउनुभयो । सदनमा सङ्गठित अपराधीहरुको सङ्ख्या घटाउन आफ्नो उम्मेदवारी परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘३३ वर्षसम्म यहाँ ल मेकर कोही पनि हुनुभएन, सबै ल ब्रेकर भएको हिसाबले अब ल मेकर सदनको मर्यादा बढाउनुपर्ने हुन्छ । यहाँ ल मेकरको आवश्यकता छ । ब्रेकरको आवश्यकता होइन । सदनको प्रतिष्ठा बढाउनका लागि, यसको सम्मान बढाउनका लागि, र यो सदनमा सङ्गठित अपराधीहरुको सङ्ख्या घटाउनका लागि मेरो उम्मेदवारी हो ।’’
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी लिएर उम्मेदवारी दर्ता गराएका पुकार बमले परिवर्तनका लागि आफ्नो उम्मेदवारी परेको बताउनुभयो । युवाहरु सदनमा आउनुपर्ने भएकाले आफ्नो उम्मेदवार बनेको जानकारी उहाँले दिनुभयो ।