• १३ साउन २०८१, आइतबार

लेक लागेर दम्पतीको मृत्यु

blog

लमजुङको ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी जाने बाटो । तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, असोज २२ गते । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने ऐतिहासिक एवम् पर्यटकीय मेमेपोखरी घुमेर फर्कने क्रममा लेक लागेर एक दम्पतीको मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका –१२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जन र उहाँको श्रीमती बेंसीसहर नगरपालिका –१०, साँधु गाउँ माइत भएका २४ वर्षीया शर्मिला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार बुद्धिमानको बिहीबार शव फेला परेको थियो । हराइरहेका शर्मिलाको शव शनिबार मध्यान्ह १२ बजेतिर दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सीमाक्षेत्र जुम्रोडाँडामा फेला परेको श्रीमालले बताउनुभयो । 

उहाँका अनुसार नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजीका क्रममा शव फेला परेको छ । श्रीमान्को शव रहेको ठाउँबाट करिब १५ मिनेट तल श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मौसममा आएको खराबी र अप्ठ्यारो ठाउँमा शव रहेकाले उद्धार हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक श्रीमलका अनुसार शवलाई उद्धारको प्रयास भइरहेको छ । शव करिब ४ हजार मिटर उचाइको क्षेत्रमा रहेको प्रहरीले जनाएको छ ।

खोजीकार्यमा जुट्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमेपोखरी घुम्न गएका ५ जना परिवारमध्ये श्रीमान् श्रीमतीको मृत्यु भएको थियो । 

योञ्जनलाई लेक लागेपछि उहाँका श्रीमती शर्मिलाले घटनाबारे आफन्तलाई भनेको र आफन्तले बुधबार दशमीको राति ११ बजेतिर प्रहरीमा खबर गर्नुभएको थियो । सो पछि एकादशीका दिन बिहीबार प्रहरी निरीक्षक विष्णु विकको नेतृत्वमा ७ जना प्रहरी र दोर्दी गाउँपालिका ८, टापगाउँबाट ५ जना स्थानीय खोजीका लागि निस्केका थिए । 

श्रीमलका अनुसार लमजुङ सदरमुकाम बेंसीसहरबाट बराहपोखरी पुग्न एक दिन लाग्छ । बराहपोखरीबाट मुस्किलले २ दिनमा मेमेपोखरी पुग्न सकिन्छ । माथि जाँदा उकालो र हाइ अल्टिच्युटका कारण ढिला भए पनि फर्किने क्रममा सहज हुन्छ । रातको समय भएकाले चिसोका कारण तामाङको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।