• ७ जेठ २०८१, सोमबार

हिमाली किसानलाई दशैं पर्वभन्दा अन्न भित्र्याउने चटारो

blog

हुम्ला, असोज २० गते । दशैं सुरु भएर सम्पन्न हुन लागिसक्दा पनि हुम्लाका किसानलाई बालीनाली भित्र्याउने चटारो उस्तै छ । दशैंभन्दा पनि कात्तिके बाली पाकेका कारण बाली भित्र्याउन किसानलाई भ्याइनभ्याई भएको हो । 


सिमकोट गाउँपालिका –५ का किसान ल्वान्न रोकायाले बाली भित्र्याउने समय भएका कारण किसानलाई दशैंभन्दा पनि खेतगरामा पाकेको बाली भित्र्याउन चटारो रहेको बताउनुभयो । गत चैत महिनामा लगाएको बाली पाकेका कारण यसलाई समयमै थन्क्याउनु आवश्यक रहेको उहाँको भनाइ छ । 


यतिबेला दशैंसँगै किसानलाई कात्तिके बाली फापर, चिनो, कोदो, मिठे फापर, कागुनु, सिमी, आलु, च्यातो लगायतका बाली भित्र्याउने समय भएको छ । समयमा बाली भित्र्याउन नसके पशुबस्तुले खाने भएकाले पनि किसानलाई बाली भित्र्याउन सकस भएको हो । 

अझ बिषेशगरी उत्तरी हुम्लामा महिला किसानलाई बाली भित्र्याउने काम बढी देखिएको छ । महिलालाई बिहानैबाट बेलुकासम्म खेतमै काम गर्नु बाध्यता रहेको छ । महिलालाई दशैंभन्दा पनि काम ठूलो देखिएका कारण कामलाई महत्त्व दिनपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । 


वर्ष भरी गरेको मिहिनेत खेर फाल्न पनि नुहुने  बताउँदै खार्पुनाथ गाउँपालिका–१ का किसान जानकी सिंहले चाड पर्वले मात्र खाना नदिने बताउनुभयो । चाड एक दिन मान्ने हो, तर बाली नथन्क्याए वर्ष भरी खाना नपाइने बताउँदै उहाँले कामलाई ठूलो मान्न आवश्यक रहेको बताउनुभयो । किसानहरू दशैंजस्तो पर्व यतिखेर नभइदिएकै राम्रो मान्ने गर्छन् । घर घरमा चढाइएको खसी बोकाको मासु समेत राम्रोसँग खान पाउन अवस्था किसानलाई नभएको सिंहले बताउनुभयो । 


अधिकांश किसानलाई कामले गर्दा बिहानबाट बेलुकासम्म टाउको ठाडो बनाउनेसम्मको समय हुँदैन । दशैंको टीकाको दिनमा पनि टीका थापेर किसान हतारमा खेततिरै दौडेको देखिनु सामान्यजस्तै देखिएको स्थानीय किसानको बुझाइ छ ।


Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।