• १३ साउन २०८१, आइतबार

क्रिकेटर सन्दीप लामिछाने प्रहरी वृत्त गौशालामा

blog

विमान स्थलमा पक्राउ पर्नुभएका सन्दीप लामिछाने । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज २० गते । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

पक्राउ गरेर गौशाला लगिएका सन्दीपलाई तत्काल स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज समेत लगिएको थियो । सिनामंगलबाट सन्दीपलाई पुनः प्रहरी वृत्त गौशाला लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्दीपलाई आइतबार अदालत उपस्थित गराइनेछ ।

शुक्रबारसम्म दशैंको बिदा र शनिबार सार्वजनिक बिदा परेका कारण अदालत बन्द हुने भएकोले आइतबार अदालत खुलेपछि म्याद थपका लागि सन्दीपलाई उपस्थित गराइने बताइएको  छ ।

राष्ट्रिय टोलीको कप्तानका रूपमा भदौ ६ गते केन्यामा क्रिकेट सिरिज खेल्न जानुभएका सन्दीप झण्डै डेढ महिनापछि बलात्कार आरोपीका रूपमा बिहीबार स्वदेश फर्कनुभएको हो ।

केन्या जानु अघिल्लो दिन अर्थात् भदौ ५ गते सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक १७ वर्षीया नाबालिगले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

ती नाबालिगले भदौ २१ गते सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी हुन्। सोही उजुरीका आधारमा भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसपछि सन्दीपलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि कप्तान र राष्ट्रिय क्रिकेट टोलीबाट बर्खास्त गरेको थियो । प्रहरीले दुई साताअघि मात्र सन्दीपविरुद्ध डिफ्युज नोटिस समेत जारी गरेको थियो ।

बिहीबार पक्राउ परेसँगै सन्दीपले आफ्ना कानुन व्यवसायी एवं अधिवक्ता सरोजकृष्ण घिमिरेलाई पनि उपस्थितिको लागि स्वीकृति दिन प्रहरीमा आग्रह गर्नुभएको थियो । तर सन्दीपको आग्रहलाई अस्वीकार गरेको छ ।

सन्दीपले आफूविरुद्ध लागेको आरोप निराधार भएको भन्दै कानुनी लडाईमा सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने पनि बताउनुभएको छ ।