• १३ साउन २०८१, आइतबार

पूर्वी नवलपरासीमा पहाडी सडक अवरुद्ध

blog

फाइल तस्बिर

कावासोती, असोज १९ गते । पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोडने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका –५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीका अनुसार लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि बौदिकाली र बुलिङ्गटार गाउँपालिकाको  यातायात सेवा ठप्प भएको छ । 

दलदलेबाट पहाडी क्षेत्रका लागि छुटेका र पहाडी क्षेत्रबाट दलदलेतर्फ आउँदैगरेका सवारीसाधन पाङ्ग्रेमा थन्किएका छन् । दशैंमा टीका थाप्न हिँडेका सयौँ यात्रु पैदल नै आफ्नो गन्तव्यतर्फ लागेका छन् । उक्त क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । पहिरो झर्ने क्रम नरोकिएकाले सडक पुनः सञ्चालनमा कठिनाइ भएको पुरीले बताउनुभयो ।

यसैबीच राइकोटबाट दलदलेका लागि छुटेको गण्डकी प्रदेश –०४–००१ ज ००६ नम्बरको जिप पहिरोमा परेको छ । जिपमाथि पहिरो खसे पनि त्यसमा सवार यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।