• १३ मंसिर २०८१, बिहिबार

दशैंको महानवमीमा देशभर वर्षा

blog

फाइल तस्बिर

काठमाडौं, असोज १८ गते। दशैंको महानवमीका दिन मङ्गलबार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। आजको वर्षाले गर्दा दशैंका क्रममा मानिसलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नम्बर १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ। 

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् सजिना शाक्यका अनुसार मङ्गलबार मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। त्यस्तै, विजयादशमीको दिन बुधबार देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ।

महाशाखाका अनुसार मङ्गलबार राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश नम्बर १, मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विजयादशमीको दिन बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ।