• ८ वैशाख २०८१, शनिबार

केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले बनायो उम्मेदवारको चयनको मापदण्ड

blog

नेपालाी कांग्रेसको बैठक । फाइल तस्बिर

काठमाडौं, असोज १७ गते। नेपाली कांग्रेसले सङ्घीय चुनावका लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ। सोमबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार चयनको मापदण्ड बनाएको हो। 

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नुभएका प्रस्ताव पारित गर्दै उम्मेदवार चयनको मापदण्ड बनाएको हो। ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारको चयनका लागि आधार र मापदण्ड तय गरिएको छ’’, मुख्य सचिव पौडेलले भन्नुभयो। 

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार नबनाउने भएको छ। 

बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन सबैलाई अपिल गरेको छ। निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रूपले एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालित गर्ने निर्णयसमेत बैठकले गरेको छ। 

त्यसैगरी बैठकले विजया दशमीको शुभकामना व्यक्त गर्दै  निर्वाचन आयोगमा असोज ३  गते बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा केही हेरफेर गर्ने निर्णयसमेत गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्नेछ।