• ११ मंसिर २०८१, मङ्गलबार

दशैंमा खाद्य डिपो रित्तै

blog

मान्म समाचारदाता

कालीकोट, असोज १७ गते ।  जिल्ला सदरमुकाम मान्मदेखि पचालझरना गाउँपालिका १७ कोष टाढा छ । सुपथ मूल्यको मसिनो चामल लिन दिनभर हिँडेर सदरमुकाम मान्म पुगेका विक्रम बम दिनभर लाइन बस्नुभयो तर चामल पाउनुभएन । उहाँ निराश हुँदै फर्कनुभयो । दिनभर लाइनमा बस्दा पनि चामल नपाएर रित्तै घर फर्किनुपरेको भन्दै यसपालिको दशैँ खल्लो हुने उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

जिल्ला सदरमुकाम मान्ममा प्रतिकिलो सात रुपियाँ छुटमा चामल बिक्री भइरहेको छ । त्यही चामल लिन खाँडाचक्र नगरपालिका–१ का ४२ वर्षीय अग्रबहादुर शाही पनि खाद्यको डिपो पुग्नुभयो । दिनभर लाम लागे पनि चामल नपाएपछि अन्तिममा रित्तो हात फर्कनुप¥यो । बम र शाहीजस्तै शुक्रबार खाद्य डिपोमा आएका स्थानीय बासिन्दाले रित्तो हात फर्कनुपरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिरा मसिनो चामल सकिएपछि मोटो चामल दिएर पठाउने गरेको जनाएको छ । कार्यालय प्रमुख कमलराज पाण्डेले कम्पनीको शाखामा जिरा मसिनो चामल सकिएको बताउनुभयो । उहाँका अनुसार चामल ढुवानी गर्न समयमै सम्झौता हुन नसकेका कारण खाद्यका बिक्री डिपोमा दशैँअघि चामल पुग्ने सम्भावना छैन । जिल्ला सदरमुकाममा खाद्यका शाखा र चारवटा बिक्री केन्द्र छन् । अन्य तीन पालिकामा रहेका बिक्री केन्द्र भने रित्तै छन् । तिलागुफा नगरपालिकाको पादमघाट, पलाँता गाउँपालिकाको थिर्पु र खिन धैलागोह बिक्री केन्द्रमा चामल छैन । यी केन्द्र पनि एक वर्षदेखि रित्तै छन् ।

कम्पनीले दशैँ, तिहार र छठ पर्वका लागि असोज १ देखि कात्तिक १५ गतेसम्म छुट मूल्य पसल सञ्चालन गरेको छ । चाडपर्वमा नागरिकलाई राहत दिने उद्देश्यले कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । असोज १ गतेदेखि शुक्रबारसम्म खाद्य डिपो कार्यालय कालीकोटबाट ७८२  क्विन्टल बढी चामल बिक्री भएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिनुभयो ।