• १३ साउन २०८१, आइतबार

राउटे बस्तीमा दशैँ चटारो

blog

कमल शर्मा

दैलेख, असोज १६ गते । कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय दशैँ मनाउने तयारीमा जुटेको छ । राउटेका मुखियाले केही दिनअघि प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग भेट गरी आफूलाई दशैँमा मासुको व्यवस्था गर्न माग गरेका थिए । राउटेका लागि भगवतीमाई गाउँपालिकाले शुक्रबार दुईवटा खसी दिएको छ । जाजरकोट जिल्लाबाट दैलेखको भगवतीमाई गाउँपालिका–१, पगनाथमा बस्ती सरेका राउटे समुदायमा दशैँको रौनकले छोइसकेको छ । अहिले राउटे समुदायका अगुवा गाउँगाउँ र बजारकेन्द्रित भएर आफ्ना ‘जनता’का लागि खाद्यान्न तथा अन्य सहयोग माग्दै गरेका छन् । 

भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले राउटे समुदायका लागि पालिकाबाट दुईवटा खसीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता पाएनन् 

फिरन्ते जीवन बिताउने यो समुदायका ४३ घरधुरीमा गरी १४४ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै पुगेर राउटे समुदायलाई अघिल्लो वर्षको सामाजिक सुरक्षा भत्ता गत साउन ८ गते वितरण गरेको थियो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक चार हजार रुपियाँ प्रदान गर्दै आएको छ ।

राउटे परियोजनामार्फत समुदायमा खटिएका शिक्षक लालबहादुर खत्रीले राउटेले पाउने भत्ता नआएका कारण राउटेलाई दशैँ मनाउन समस्या भएको बताउनुभयो । 

उहाँले कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत गुराँस गाउँपालिका–८ को वडा कार्यालयमा भत्ता निकासा गरेको भए पनि अहिलेसम्म भत्ता वितरण हुन नसकेको बताउनुभयो । राउटे समुदायले दशैँका बेला वनपूजा र घरपूजा गर्ने चलन छ । वनपूजाका लागि प्रतिव्यक्ति कुखुरा चाहिने र घरपूजाका लागि खसी चाहिने चलन छ । भत्ता नआएका कारण कुखुराका चल्लासमेत किन्न नसकिएको राउटे मुखिया सूर्य नारायण शाहीले बताउनुभयो । उहाँले वनपूजा गरेपछि घरपूजा गर्ने संस्कार भए पनि अहिले बस्तीमा न चामल, न त खसी कुखुरा नै भएको बताउनुभयो ।

गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दीपेन्द्र वलीले कोष नियन्त्रण कार्यालयले शुक्रबार अबेर वडा कार्यालयको खातामा रकम जम्मा गरेका कारण भत्ता वितरणमा ढिलाइ भएको बताउनुभयो ।  उहाँले शुक्रबार पैसा आएको र शनिबार बैङ्क बन्द हुने हुँदा आइतबार भत्ता वितरण गर्ने योजना बनाएको जनाउनुभयो । 

राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्छन् । यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले पहिल्यै खसीबोका जम्मा गरी राख्छन् । खसी नपाए बूढो बाख्री भए पनि खोजेर ल्याउँछन् । दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् ।

दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । पुरुष मात्र नाच्छन्, महिला कहिल्यै नाच्दैनन् । मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै सृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताउनुभयो ।

साबिक मध्यपश्चिम तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा बसोबास गर्ने राउटे समुदाय गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् । उनीहरूलाई गुराँस गाउँपालिकाले स्थायी बासिन्दाको परिचयपत्रसमेत दिएको छ ।