• ४ जेठ २०८१, शुक्रबार

हुम्लामा एलपी ग्यासको प्रयोग वृद्धि

blog

हुम्ला, असोज १६ गते । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने (एलपी) ग्यास प्रयोग गर्नेको सङ्ख्या उच्च दरमा वृद्धि भइरहेको छ । सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डका हीरा शाहीले पहिले १५ परिवारले एलपी ग्यास प्रयोग गरिरहेकोमा अहिले डेढ सयभन्दा बढी परिवार पुगेको जानकारी दिनुभयो । सर्केगार्डमा १७० घरधुरी छन् । 

उहाँले विद्युत् सेवा नियमित नुहुनु र दाउराको समस्या हुने हुँदा एलपी ग्यासप्रति उपभोक्ताको आकर्षण बढेको बताउनुभयो । “हिसाब गर्दा एलपी ग्यास नै सस्तो पर्ने भएपछि यसको प्रयोग गर्ने वृद्धि भएको हो,” उहाँले भन्नुभयो । 

राजमार्गबाट आधा घण्टा खच्चडमा ढुवानी गरेर ल्याएपछि सर्केगार्डमा एक सिलिन्डर एलपी ग्यासको मूल्य चार हजार पाँच सय रुपियाँ पर्छ । गाडीबाटै ढुवानी हुने सलीसल्ला र चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा यसको मूल्य चार हजार पर्छ । सदरमुकाम सिमकोटकी गीता लामाले २२० भन्दा बढी परिवारले एलपी ग्यास प्रयोग गर्न थालेको जानकारी दिनुभयो । छ महिना अघिसम्म प्रतिसिलिन्डर एलपी ग्यासको मूल्य चौध हजार रुपियाँ हुँदा २० परिवारले मात्र प्रयोग गर्ने गर्थे । अहिले यहाँ एक सिलिन्डरको छ हजार पाँच सय रुपियाँ पर्छ । 

उहाँले दाउराभन्दा एलपी ग्यास सस्तो, छिटो र भाँडा सफा हुने भएपछि प्रत्येक दिन यसको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको बताउनुभयो । उहाँले प्रत्येक दिन दुई÷चार नयाँ उपभोक्ताले ग्यास प्रयोग गर्न थालेको बताउनुभयो । सिमकोटकै ग्यास व्यापारी लोकेन्द्र शाहीले छ महिनाअघिको तुलनामा दस गुणाभन्दा बढीले ग्राहक बढेको जानकारी दिनुभयो । उहाँले पहिले सिमकोटमा चौध हजार रुपियाँ पर्ने ग्यास अहिले साँढे छ हजार रुपियाँमा पाउन थालेपछि यसको प्रयोग गर्ने उपभोक्ता वृद्धि भएको बताउनुभयो । 

“छ महिनाअघि महिनामा १५ देखि २० सिलिन्डर खच्चडबाट ढुवानी गथ्र्याैं । अहिले ६० सिलिन्डरभन्दा बढी नै झिकाउन थालेको छु,” ग्यास व्यापारी शाहीले भन्नुभयो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।