• १३ मंसिर २०८१, बिहिबार

ज्येष्ठ नागरिक मिलन केन्द्रलाई अनुदान दिइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १५ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई अनुदान उपलब्ध गराउनका लागि कार्यविधि बनाएको छ । ज्येष्ठ नागरिकबाट शुल्क लिएर वा नलिई दिउँसोको समयमा हेरचाह गर्नका लागि मन्त्रालयले यस्तो मिलन केन्द्रको अवधारणा ल्याएको हो । 

ज्येष्ठ नागरिकबीच भेटघाट हुने अवसर जुटाई उनीहरूमा रहेको ज्ञान, सीप, अनुभव आदानप्रदान गर्दै सो ज्ञान, सीप युवापुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न, उनीहरूमा हुन सक्ने नैराश्यता तथा एक्लोपनाको महसुसलाई कम गरी जीवन सहज र रमाइलो बनाउन, उनीहरूको सम्मान हुने गरी कार्यक्रम सञ्चालन गर्न कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै ज्येष्ठ नागरिकको पुस्तकलगायत अन्य सीप उपयोग गरी विभिन्न सामान उत्पादन, निर्माण र बिक्रीवितरण गर्न व्यवस्था मिलाउन बिक्री कक्ष उपलब्ध गराउने उद्देश्यले कार्यविधि तयार गरिएको छ । मिलन केन्द्र निर्माण तथा सञ्चालन गर्नका लागि भौतिक संरचना ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने, कम्तीमा तीन महिनाको एक पटक धार्मिक स्थल, पार्क जस्ता सार्वजनिक स्थलमा लैजाने र मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराउने कुरा मापदण्डमा राखिएको छ । 

महिनाको एक पटक स्वास्थ्य परीक्षण, खेलकुदलगायत योग, ध्यान, प्रार्थनाको व्यवस्था, उनीहरूको रुचिअनुसार सामाजिक, सांस्कृतिक भौगोलिक, धार्मिक तथा साहित्यिक पुस्तक गीत, कविता, कथा, भजनसम्बन्धी पुस्तक र वाद्यवादनका सामग्रीको व्यवस्था गरिनुपर्नेलगायतका मापदण्ड तोकिएका छन् । 

त्यस्ता केन्द्रले दिउँसोको समयमा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने पनि मापदण्डमा राखिएको छ । कार्यविधि बनाएसँगै मन्त्रालयले मिलन केन्द्र निर्माण तथा सञ्चालनका लागि अनुदान प्राप्त गर्न चाहने संस्थाबाट प्रस्ताव माग गरेको छ । मन्त्रालयले २१ दिनभित्र त्यस्तो प्रस्ताव पेस गर्न पनि आग्रह गरेको छ । 

समाज कल्याण परिषद्अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्की लामो समयको माग र छलफलपछि कार्यविधि आएको बताउनुहुन्छ । ढिलै भए पनि यस्तो कार्यविधि आएपछि अबका दिनमा कम्तीमा एक पालिका एक ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना होला भन्ने आशा गर्न सकिने उहाँ बताउनुहुन्छ ।