• १३ मंसिर २०८१, बिहिबार

‘ज्येष्ठ नागरिकको जीवन सहज र सुरक्षित हुनुपर्छ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ । ३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रो सांस्कृतिक मूल्य, मान्यता र परम्परा ‘मातृदेवो भवः, पितृ देवो भवः’ बाट निर्देशित रहेको उल्लेख गर्नुभएको छ । उहाँले ज्येष्ठ नागरिकहरूमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्नका लागि परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । 

जीवनको ऊर्जाशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायतका सेवाको व्यवस्था गरेको चर्चासमेत उहाँको सन्देशमा उल्लेख छ । सन्देशमा ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नुका साथै ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई थप विस्तार गर्दै लैजानुपर्ने उहाँले बताउनुभएको छ । 

सुरक्षाका लागि सरकार प्रतिबद्ध : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने र समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित तथा सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । 

सरकारले ज्येष्ठ नागरिकको कल्याण र सुरक्षाका लागि विभिन्न व्यवस्था गर्नुका साथै राज्यबाट प्रदान गरिने स्वास्थ्यलगायत विभिन्न सेवा तथा सुविधामा विभिन्न सहुलियत प्रदान गर्दै आएको उहाँले सन्देशमा भन्नुभएको छ । सन्देशमा ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिएको सेवा र सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी दिनमा राज्यको क्षमतामा वृद्धि भएसँगै थप फराकिलो बनाउँदै लगिने कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख छ, ‘‘ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।’’ सरकारले हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट सुरु गरिसकेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्‍वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलता ः बदलिँदो विश्‍वका लागि अपरिहार्यता’ भन्ने मूल नारा तय गरेको छ । यही मूल विषयलाई केन्द्रविन्दुमा राखेर नेपाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन थालेको छ ।