• १३ मंसिर २०८१, बिहिबार

स्वर्गीय भट्टराई सबैका लागि प्रेरणादायी

blog

काठमाडौँ, असोज १४ गते । राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधनमा राष्ट्रिय सभा सचिवालयले बिहीबार कार्यक्रम आयोजना गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ । 

तीन दशकभन्दा बढी सरकारी सेवामा रहनुभएका भट्टराई २०५७ साल असार २० देखि २०६२ साल भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिव हुनुहुन्थ्यो । उहाँको यही असोज ५ गते डेङ्गु सङ्क्रमणका कारण निधन भएको थियो । 

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले संसद् सेवामा स्वर्गीय भट्टराईले पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै उहाँको असल व्यक्तित्व सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो । सचिव फुयालले उहाँका परिवारका सदस्य तथा गोरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराईलाई श्रद्धाञ्जलिपत्रसमेत हस्तान्तरण गर्नुभयो । 

संसद् सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङले संसदीय अभ्यासका क्षेत्रमा लामो अनुभव भएका भट्टराईलाई गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभयो । संसद् सचिवालयका पूर्वसहसचिव जयनारायण नेपालले स्वर्गीय भट्टराईको कविता वाचन गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । 

स्वर्गीय भट्टराईका हलेसी तीर्थ काव्यलगायत एक दर्जन साहित्यिक पुस्तक र थुप्रै फुटकर कविता प्रकाशित छन् ।