गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १४ गते । सवारीसाधनको बढ्दो चाप र सीमित जनशक्तिका कारण ट्राफिक व्यवस्थापन जटिल तथा चुनौतीपूर्ण बन्दै गएको छ ।
यातायात व्यवस्था विभागका अनुसार नेपालमा हाल ४५ लाख ५८ सवारीसाधन दर्ता भएका छन् । ती सवारीसाधनको अनुगमन गर्ने ट्राफिक प्रहरीको सङ्ख्या भने जम्मा दुई हजार ७३४ जना मात्र रहेको छ ।
सवारीसाधनको नियमित चेकजाँच गर्ने हो भने एक जना ट्राफिकको भागमा १६ हजार ६६७ वटा सवारीसाधन पर्छ । विभागका अनुसार दैनिक औसत ८४५ वटा नयाँ सवारी थपिने गरेका छन् । सवारीसाधनको वृद्धिसँगै सडक विस्तार हुन नसक्दा सवारीसाधनको चाप बढ्दो छ । चाडपर्व तथा विशेष समारोहमा यात्रुको आवतजावत बढेसँगै सवारीसाधनको व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बढ्दो सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले ट्राफिक व्यवस्थापनमा एक जना ट्राफिक प्रहरी १० घण्टासम्म खटिनु परेको जानकारी दिनुभयो ।
उपत्यकाको सवारी व्यवस्थापनका लागि विभिन्न चोकमा ५६ वटा ट्राफिक बत्ती जडान गरिएको छ । तीमध्ये ३८ वटा मात्र सञ्चालनमा रहेका छन् । सवारीसाधनको अत्यधिक चापका कारण ट्राफिक बत्ती बन्द गरी हातको इसारामै ट्राफिक
व्यवस्थापन गर्नु परेको गुनासो ट्राफिक प्रहरीले गर्दै आएका छन् ।
ट्राफिक प्रहरीको जनशक्ति कम हुँदा सवारीसाधनको नियमित चेकजाँच प्रभावित हुँदा ट्राफिक नियम उल्लङ्घनका घटना वृद्धि हुन थालेका छन् । जसका कारण सडक दुर्घटनासमेत बढ्न थालेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारीसाधनको यान्त्रिक परीक्षण नगरी क्षमताभन्दा बढी यात्रु राख्ने गरेका कारण सडक दुर्घटना बढेपछि न्यूनीकरणका लागि ट्राफिक अनुगमन तथा चेकजाँच कडाइ गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलक्षित सुरक्षा योजनामार्फत उपत्यकाका विभिन्न स्थानमा चेकजाँच तथा सवारीसाधनको अनुगमन सुरु गरेको जनाएको छ ।
यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार उपत्यकामा मात्र झन्डै १६ लाख सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये औसत झन्डै नौ लाख सवारीसाधन दैनिक ओहोरदोहोर गर्छन् । ती सवारीसाधनको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको दरबन्दी एक हजार एक सय मात्र रहेको छ । उक्त दरबन्दीबाट उपत्यकाको सवारी व्यवस्थापन सम्भव नभएपछि छ सय जना जनपथ प्रहरीलाई ट्राफिक व्यवस्थापनमा लगाइएको छ ।