मुना हमाल
सुर्खेत, असोेज १४ गते । दशैँ सुरु भएसँगै पछिल्लो समय घर फर्किनेको चहलपहल बढेको छ । रोजगारका लागि भारत तथा अन्य मुलुकमा गएका परदेशी अहिले धमाधम घर फर्किरहेको हुनाले सडक, बजार र गाउँघरमा चहलपहल बढेको हो । कर्णाली प्रदेशका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गर्छन् ।
खेती लगाइसकेर दुई चार महिना रोजगारीका लागि भारत जाने र खर्चको जोहो गरेर घर फर्किने अधिकांश नागरिक दशैँको आगमनसँगै घर फर्किन्छन् । खेतीले छ महिना पनि खान नपुग्दा र गाउँमै रोजगारीको अवसर नहुँदा कर्णालीका ग्रामीण भेगका अधिकांश नागरिक भारत जान बाध्य छन् । परदेशी फर्किन थालेपछि गाउँघरमा समेत चहलपहल बढेको छ । चाडपर्व मान्न र पाकेको खेती भिœयाउने योजनाका साथ विशेष गरेर रोजगारीका लागि भारत गएका दशैँमा फर्किने गर्छन् ।
जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले दशैँ मनाउन भारतबाट फर्किएको बताउनुभयो । वीरेन्द्रनगर बसपार्कमा भेटिएका नेपालीले दशैँ मान्न घर फर्किएको बताउनुभयो । कमाइका लागि उहाँको परिवार नै भारतको सिमलामा बस्दै आएको छ । बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले यस पटक दशैँ मान्न एक्लै घर आएको उहाँलेउल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा एउटा रोटी कमाउने उपाय छैन । भारत नगई हुँदैन । यहाँ बसेर के गर्नु ? परिवार उतै छन् । दशैँ मनाएर
छिट्टै फर्किन्छु ।”
रोजगारका लागि परिवारसहित भारतमा बस्दै आउनुभएका तिला गाउँपालिका–१ का नीराजन बुढाले यस पटक दशैँ मान्नका लागि एक्लै आएको बताउनुभयो । उहाँसँग भारतबाट फर्किएका अन्य चार जना पनि हुनुहुन्थ्यो । छोराछोरी सबै भारतमै भएकाले दशैँ मान्नेबित्तिकै भारत फर्किने उहाँले बताउनुभयो ।
दैलेखको महाबु गाउँपालिका बाँसीका दीपक खत्रीले दशैँ मान्नका लागि भारतबाट आएको बताउनुभयो । उहाँ कमाइका लागि वर्षमा दुई पटकसम्म भारत जानुहुन्छ । खेत रोपाइँ गरेर कमाउनका लागि भारत गएको बताउँदै अब चाडपर्व मनाई खेती भिœयाएर फेरि भारत जाने उहाँको योजना छ । रोजगारीको सिलसिलामा विदेश जानुभएका दैलेख नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि घर फर्किनुभएको छ । उहाँ दशैँ मनाउनका लागि दुई वर्षपछि दुबईबाट घर फर्किनुभएको हो ।