• ११ मंसिर २०८१, मङ्गलबार

हेटौँडामा डेङ्गु महामारी भएन नियन्त्रण र उपचार प्रभावकारी

blog

उच्च ज्वरो र डेङ्गु सङ्क्रमणको जोखिम बढेपछि हेटौँडा अस्पतालमा उपचारका लागि बढेको बिरामीको चाप ।

राममणि दाहाल

हेटौँडा, असोज १४ गते । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा डेङ्गु रोग सङ्क्रमणले महामारीको रूप लिएको छ । डेङ्गु रोग सङ्क्रमण महामारीका रूपमा फैलिए पनि यसको नियन्त्रण, रोकथाम र उपचार प्रभावकारी भएको पाइएको छैन । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको उपचार र औषधि नभए पनि डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण चैतबाट सुरु गर्नुपर्नेमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भदौबाट सुरु गर्दा महामारीको रूपमा फैलिएको हो । गत २४ घण्टामा मकवानपुरमा ११२ जना डेङ्गुका सङ्क्रमित थपिएकामा तीमध्ये ९४ जना हेटौँडा उपमहानगरपालिका क्षेत्रका छन् ।

मकवानपुर जिल्लामा बिहीबारसम्ममा दुई हजार ८७६ जनामा डेङ्गु सङ्क्रमण भएकोमा तीमध्ये हेटौँडा उपमहानगरपालिकाका दुई हजार ५५३ जना भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकापछि मनहरी गाउँपालिकामा १४२ जनामा डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट १८ जनाको मृत्यु भएकामा तीमध्ये एक जना हेटौँडा उपमहानगरपालिकाका छन् । 

डेङ्गु सङ्क्रमितले हेटौँडा अस्पतालसहित निजी अस्पताल र मेडिकलहरूका शøयाहरू भरिएका छन् । हेटौँडा अस्पतालमा उपचारका लागि श-या अभाव भएपछि बाहिरी जिल्ला वा हेटौँडाकै निजी अस्पताल र मेडिकलहरूमा महँगो शुल्क तिरेर उपचार गर्न डेङ्गु सङ्क्रमितहरू बाध्य छन् । 

हेटौँडा अस्पतालमा मात्र डेङ्गु सङ्क्रमण भएका दैनिक एक सय जना उपचारका लागि आउने गरेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार यहाँ उपचार हुन नसक्ने डेङ्गु सङ्क्रमितलाई उपचारका लागि अन्यत्र पठाइने गरेको छ ।

बिहीबार २५ जना डेङ्गु सङ्क्रमित उपचार गरिरहेको हेटौँडा अस्पतालमा डेङ्गु सङ्क्रमणको महामारी फैलिएसँगै उपचारका लागि शøया अभाव भएको छ । डेङ्गु सङ्क्रमित मात्र नभएर अस्पतालले अन्य बिरामीको समेत भर्ना र उपचार गर्नुपर्ने भएकाले शøया अभाव भएको अस्पताल व्यवस्थापनले बताएको छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि भएकाले उपचारका लागि शøया अभाव भएको अस्पतालको भनाइ छ ।

असोजको मध्य समय आइपुग्दासमेत हेटौँडामा डेङ्गु सङ्क्रमण महामारी नियन्त्रणमा नआउनुले तीनै तहको सरकारको डेङ्गु सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारमा प्रभावकारी नीति, योजना र कार्यक्रमको अभाव भएको पुष्टि हुन्छ ।

जोखिम क्षेत्र पहिचान गर्दै छौँ

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले लामखुट्टेको सम्भावित बासस्थानमा समयमा नियमित सरसफाइको अभावमा डेङ्गु सङ्क्रमणको प्रकोप फैलिएको बताउनुभयो । 

लामो समयसम्म मकवानपुरलगायतका बढी डेङ्गु सङ्क्रमण फैलिएका क्षेत्रमा निरन्तरको मनसुनले डेङ्गु सङ्क्रमण गर्ने लामखुट्टेको वृद्धि विकासका लागि अनुकूल वातावरण बनेकाले डेङ्गु सङ्क्रमणको महामारी फैलिएको बताउँदै उहाँले २०७६ सालपछि यो वर्ष डेङ्गु सङ्क्रमण उच्च भएको हो भन्नुभयो । 

डेङ्गु सङ्क्रमण गर्ने लामखुट्टे अन्य लामखुट्टेभन्दा फरक, बाठो र एउटै व्यक्तिलाई मात्र टोकेर सन्तुष्ट नहुने भएकाले धेरैलाई टोक्ने र डेङ्गु सङ्क्रमण गर्ने बताउँदै उहाँले भन्नुभयो, “मानिसको व्यवहारमा परिवर्तन नहुँदा र सरसफाइमा नियमित ध्यान नदिँदा हरेक तीन वर्षमा डेङ्गु सङ्क्रमणले महामारीको रूप लिन्छ ।”

महामारीको समयमा कुन जातको लामखुट्टेबाट डेङ्गु सङ्क्रमण फैलिएको हो र जोखिम क्षेत्र कुन–कुन हुन् भन्ने पहिचान गरी अनुसन्धानपछि उपचारलाई सहज बनाउन अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

जनचेतना र लार्भा नष्टलाई प्राथमिकता

डेङ्गु सङ्क्रमणको महामारी फैलिएको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा जनचेतना र लार्भा नष्टलाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले जनाएको छ । उपमहानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य निरीक्षक कृष्णकुमार यादवले डेङ्गु भाइरल रोग भएकाले ठोस उपचार नभएको बताउँदै यसको पहिचान गरी उपचार गर्नु नै मुख्य विषय भएको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको कार्यालय, ग्यारेज, पार्टी प्यालेस, कलकारखाना रहेका वडा नं. २, ४, ५ र १० डेङ्गु सङ्क्रमणको जोखिम क्षेत्र रहेको भन्दै उहाँले सहरी क्षेत्र डेङ्गु रोगका लागि उपयुक्त स्थल बन्दै गएको बताउनुभयो ।