• २७ वैशाख २०८१, बिहिबार

अवसर नपाए अन्त हाम फाल्ने प्रवृत्तिबाट सजग हुनुपर्छ : अध्यक्ष नेपाल

blog

अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहार, नेपाल सम्वद र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम ।

काठमाडौं, असोज १३ गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा अवसर नपाउँदा तुरुन्तै अन्त हाम फाल्ने प्रवृत्ति रहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले दशैँ, तिहार, नेपाल सम्बद्ध र छठ पर्वको अवसरमा बिहीबार राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “अवसर पाउँदा जिन्दाबाद भन्ने । नपाउँदा तुरुन्तै अन्त गएर हाम फाल्ने प्रवृत्तिहरू देखिएको छ । यसबाट सजक, सतर्क हुनुपर्छ । यो प्रवृत्तिलाई हुर्कन दिने र्होन, निमिट्यान्न पार्नुपर्छ । पार्टीले प्रशिक्षण केन्द्रबाट सुरु गरेको छ । यो प्रदेश–प्रदेश, पालिका–पालिका, वडा–वडामा गर्नेछौँ । पार्टीका विभिन्न कार्यकर्तामा प्राथमिक, माध्यमिक वा उच्चस्तरको होस्, पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाएर लाने, बलियो बनाउन सकियोस् ।”

चाडपर्वको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले नयाँ पीढीमा अगाडि बढ्ने हौसलाका साथ समाज परिवर्तन एवम् रूपान्तरण गर्ने, सबैखाले अन्याय, अत्याचार, अपमान र हिंसाको अन्त्य गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले महिलाका नाममा धेरै सङ्गठन भए पनि समाजवादीको महिला सङ्गठन ती सबैभन्दा अग्रपङ्क्तिमा उभिनसक्नुपर्ने बताउनुभयो । भ्रष्टाचारका कारण नेताहरूले विश्वास गुमाउँदै गएको विषय उहाँले ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा समाजवादीका सम्मानित नेता झालनाथ खनालले मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक वा प्रत्यक्ष दुवैतर्फ महिला उम्मेदवारलाई जोड दिइएको बताउनुभयो । देशका ७५३ पालिकाहरू र १८ हजार वडाहरूमा अखिल नेपाल महिला सङ्घ समाजवादीको इकाईहरू सङ्गठित एवम् एकताबद्ध हुनुपर्नेमा उहाँको जोड छ ।

“आम निर्वाचन आइरहेको छ । बढीभन्दा बढी महिला उम्मेदवार समानुपातिक होस् वा प्रत्यक्षमा खडा गर्न प्रयत्नशील छौँ । यसकारण, पार्टीलाई दह्रो नबनाई यसलाई ठिक ढङ्गले अगाडि बढाउन सकिँदैन ।”

पार्टीका उम्मेदवारलाई चुनावमा बढीभन्दा बढी विजयी बनाउन र समाजवादी पार्टीलाई देशको अगुवा गर्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने विषय उहाँले नेताकार्यकर्तामा आह्वान गर्नुभयो ।