• ११ मंसिर २०८१, मङ्गलबार

तालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

blog

काबुल, असोज १३ गते । तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ ।

युक्रेनमा आक्रमण गरेपछि रुसमाथि लगाइएकाे प्रतिबन्धका कारण यो सम्झौता भएकाे बताइएको छ । पश्चिमी देशहरूले रुसमाथि  बन्देज लगाएपछि  मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ।

आर्थिक विकास, व्यापार र ट्रान्जिटलाई तालिबानले गत वर्ष अगस्टमा सत्तामा आएदेखि उच्च प्राथमिकतामा  राखेको छ । इस्लामिक समूहले यस क्षेत्रका देशहरूसँग कूटनीतिक र आर्थिक संलग्नता जारी राखेको छ ।

यस वर्षको शुरुमा उच्चस्तरीय तालिबान प्रतिनिधिमण्डलले रुसको भ्रमण गरेपछि यो सम्झौता भएको हो । मस्को बाहेक, यस क्षेत्रका देशका  थुप्रै कम्पनीले अफगानिस्तानको निकासी उद्योग क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् ।

तालिबान नेतृत्वले  आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग व्यापार सम्झौताको निरन्तर खोजीमा रहेको बताउँदै आएको छ ।

मङ्गलबार जारी गरिएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले अफगानिस्तानको अर्थतन्त्र गम्भीर आर्थिक सङ्कुचन र तालिबानको कब्जापछि आएको बैंकिङ तथा वित्तीय सङ्कटका कारण निकै कमजोर भएको बताइएको छ ।

'उपलब्ध तथ्याङ्कले भन्सार र गैरकर स्रोतहरूद्वारा सञ्चालित जुन महिनासम्मको राजस्व सङ्कलन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको स्तरसँग बराबर रहेको र कोइला र फलफूलबाट सञ्चालित निर्यातले विगतको आँकडालाई उछिनेको देखाएको छ' संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई दिएको पछिल्लो त्रैमासिक प्रतिवेदनमा सो बारे उल्लेख गरिएको छ ।

राजनीतिक अनिश्चितता, सेवाहरूमा अपर्याप्त पहुँच र आर्थिक सहभागिताबाट महिला बहिष्करणका कारण सहायता प्रवाहमा अचानक रोक लगाइँदा आर्थिक वृद्धिमा समस्या आएको देखिएको छ । रासस/एएनआई