• १३ साउन २०८१, आइतबार

सदरमुकाममा छैन बसपार्क, सडकमै पार्किङले दुर्घटनाको जोखिम

blog

दोलखा सदरमुकाम चरिकोटमा अस्तव्यस्त रुपमा पार्किङ भएका सवारीसाधन। तस्बिरः सुजन काफ्ले

सुजन काफ्ले

चरिकोट, असोज १३ गते । पर्यटकीय जिल्ला दोलखा सदरमुकाम चरिकोटमा  बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ।

जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनले जथाभाबी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओर्लाउने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ।

चरिकोट बजारमा सडक छेउमै टिकट काउण्टर खोलिएको छ।  जिल्लामा नयाँ बस थपिएसँगै सडकमा समस्या भएको छ। यहाँ बस पार्किङका लागि समस्या छ। यातायातका साधन सडकमै पार्किङ गर्न नपाइने नियम छ। 

फराकिलो बसपार्क नहुँदा सडक दायाँबायाँ र होटल, पसल तथा स्थानीयका घर अगाडि सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको बोलेरो चालक रोशन कुमार केसीले बताउनुभयो।  घर अगाडि र सडक छेउमै पार्किङ गर्दा दुर्घटना जोखिम बढ्ने उहाँको भनाइ छ।

व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन्।  यात्रु र सवारी साधनको चाप बढेको छ। तर, बसपार्क व्यवस्थापन अनि निर्माणमा सरकारी निकायको ध्यान पुगेको छैन। 

भीमेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बसपार्क निर्माणका लागि मास्टर प्लान तयार भएको बताउनुभयो। अरू स्थान भन्दा भीमेश्वर नगरपालिका ५ अनाथालय नजिकै रहेका जग्गामा सबैलाई पायक पर्ने भएकाले बसपार्कको लागि जग्गा व्यवस्थापन भएको उहाँको भनाइ छ। 

जिल्ला सदरमुकाम चरिकोटसहित सिगटी, जिरी, मैनापोखरी बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नहुँदा सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रसम्म यातायात सञ्चालन हुँदै आएको छ। मुख्य राजमार्ग र भित्री सडक प्राय सबैमा व्यावसायिक सवारी साधन सञ्चालनमा छन्।