• १३ मंसिर २०८१, बिहिबार

स्की आरोही नेल्सन मृत फेला

blog

स्की आरोही हिलारी नेल्सन । फाइल तस्बिर

काठमाडौं, असोज १२ गते । उत्तरी गोरखाको  मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन्।

अमेरिकी नागरिक नेल्सन बुधबार बिहान मृत भेटिएकी हुन्।  नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर हेलिकप्टरमार्फत् शव परीक्षणका लागि काठमाडौं पठाइएको  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो। 

 'आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ टिचिङ अस्पतालमा शव पठाएका छौँ”, उहाँले भन्नुभयो।

काठमाडौंको साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उहाँसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल हुनुभएको छ। 

हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराउनु भएको थियो। नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गर्नुभएको थियो। 

आठ हजार मिटरमाथिको दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उहाँको नाममा रहेको छ।  

अमेरिकाको सियाटलमा जन्मिनुभएकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो। सन् २००५ मा उहाँले चोयु हिमालको चुचुरोबाट स्की गर्नु भएको थियो। रासस