• ७ वैशाख २०८१, शुक्रबार

दुर्घटनामा ज्यान गुमाउनेप्रति कांग्रेसद्वारा श्रद्धाञ्जलि

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १२ गते । नेपाली कांग्रेसले सल्यानको कपुरकोट गाउँपालिका ३, मूलपानीमा बुधबार बिहान भएको दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । सो दलका प्रवक्ता डा. प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

सल्यानमा भएको दुर्घटनामा ८ जनाको ज्यान गएको थियो भने एक जना घाइते हुनुभएको थियो । “दुर्घटनामा परी जीवन गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा भनिएको छ । दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना उहाँले गर्नुभएको छ ।  

“मनसुनको प्रभाव अझै नसकिएको र देशभरका राजमार्ग तथा कच्ची बाटाहरू बाढी र पहिरोले बिग्रेको अवस्था रहेकोले दशै, तिहार र छठजस्ता चाडबाडको समयमा यात्रा गर्दा जोखिमलाई ध्यानमा राख्न सवारी साधन धनी, चालक दलका सदस्य, यात्रुहरू र सडक यातायात तथा सवारी साधन व्यवस्थापनमा सक्रिय नेपाल प्रहरी, राजमार्ग यातायात सञ्चालक समिति र स्थानीय निकायका सम्बन्धित अधिकारीहरूलाई अनुरोध गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता महतले सवारी साधनको नियमित परीक्षण, मर्मतसम्भार, सिट सङ्ख्याअनुसार यात्रुहरूको व्यवस्थापन र समय तालिका अनुसार सवारी साधन सञ्चालन गर्नेतर्फ ध्यान दिन अनुरोध गर्नुभएको छ ।