• १२ वैशाख २०८१, बुधबार

सत्ता गठबन्धन कार्यदलको बैठक

प्रदेशसभातर्फ ३३० सिट बाँडफाँटको प्रस्ताव तयार

blog

काठमाडौं, असोज ११ गते । सत्ता गठबन्धनको मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरेको छ ।

पाँच दलीय गठबन्धनको कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सोमबार र मंगलबार बसेको बैठकले प्रदेशसभातर्फको प्रस्ताव तयार गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “हिजो र आज बसेको बैठकले प्रदेशसभाको प्रस्ताव तयार गर्‍यो। करिब ७५, ८० प्रतिशतमा सहमति नजिक छ ।”

उहाँले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिट बाँडफाँटको प्रस्ताव शीर्षस्थ नेतृत्वमा बुझाइसकेको र त्यस विषयमा शीर्ष नेताहरू छलफलको क्रममा रहेको बताउनुभयो ।

कार्यदलको बालुवाटार बैठकमा संयोजक सिटौलासहित सदस्यहरू नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल सहभागी हुनुहुन्थ्यो । यसैगरी, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादी पार्टीका नेता मनिष सुमन  र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू सहभागी हुनुभएको थियो । 

निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको कार्यतालिका तय गरेको छ ।