• ७ वैशाख २०८१, शुक्रबार

पाकिस्तानमा डेङ्गुको सङ्क्रमण बढ्दै

blog

इस्लामावाद, असोज ११ गते । यस वर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरूमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरूको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको छ ।

यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेङ्गुबाट बढी प्रभावित देखिएको छ । यस प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।

यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट गएको २४ घण्टा यता मात्र करिब चार सय जना सङ्क्रमित भएका छन् । त्यसपछिको सबैभन्दा बढी प्रभावित प्रान्त कराँचीमा पनि गएको २४ घण्टायता यो सङ्क्रमणबाट कम्तीमा पनि तीन सय ३० जना सङ्क्रमित भएका बताइएको छ ।

सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले सिन्ध र कराँचीमा डेङ्गुका कारण सङ्क्रमित मात्र नभएर मृत्यु हुनेहरूको सङ्ख्या पनि बढ्दै गएको बताएका छन् । यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका यी प्रान्तमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरूले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।

यहाँ अहिलेसम्म आठ हजार जना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेङ्गुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यस वर्ष मात्र कम्तीमा छ हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।  रासस/सिन्ह्वा