• ८ वैशाख २०८१, शनिबार

विगतका कमीकमजोरी सच्याएर गठबन्धन अगाडि बढ्नुपर्छ : नेता खनाल

blog

नेकपा एस निकट अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्नुहुँदै नेता झलनाथ खनाल । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), असोज ११ गते ।
 नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

इलामको सूर्योदय नगरपालिकामा नेकपा एस निकट अखिल नेपाल किसान महासङ्घको भेलालाई सम्बोधन गर्नुहुँदै नेता खनालले विगतको स्थानीय तह निर्वाचनका कमीकमजोरीलाई पाठको रूपमा लिएर आगामी निर्वाचनमा गठबन्धन अगाडि बढ्नुपर्ने बत्ताउनुभएको हो । 


केन्द्रीय तहमा गठबन्धनलाई दृढतापूर्वक लिएर अघि बढ्ने सहमति भएको नेता खनालको भनाइ छ ।

‘‘अहिले सङ्घीय क्षेत्रका १६५ निर्वाचन क्षेत्रमा छलफल गरिरहेका छौँ । ७० प्रतिशतभन्दा बढी सिटमा तालमेल करिब करिब भइसकेको छ,’’ नेता खनालले भन्नुभयो । 

बाँकी सिटमा छलफल जारी रहेको बताउनुहुँदै उहाँले २/३ दिनभित्रमा सिट बाँडफाँटको काम सबै  टुङ्गोमा पुग्ने बताउनुभयो । नेता खनालले भन्नुभयो, ‘‘स्थानीय निर्वाचनमा भएका कमीकमजोरीलाई सुधारेर गठबन्धनलाई बलियो बनाउन सबै लाग्नुपर्छ ।’’

अखिल नेपाल किसान महासङ्घ प्रदेश नम्बर १ को मेची उपाध्यक्ष तारा नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य प्रदेश नम्बर १ का संस्कृति तथा पर्यटन मन्त्री खिनु लङवा लिम्बुलगायतको सहभागिता थियो । भेलाले शिवकुमार बस्नेतको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।