• १२ वैशाख २०८१, बुधबार

दशैँ नजिकिएसँगै खसीबोका महँगियो

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, असोज ११ गते । दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य आकासिएको छ। सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबार हाटमा बिक्री गर्न ल्याइएका खसीबोकाको मूल्य चर्को भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्।

स्थानीय किसान तथा व्यवसायीले हाटबजारमा बिक्री गर्न ल्याएका खसीबोकाको चाडपर्वको मौका छोपेर स्थानीय व्यवसायीले मूल्य बढाएका हुन्। हाटबजारमा नियमित खरिदबिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासि बढाएका स्थानीयले बताएका छन्। 

उपभोक्ताका अनुसार सामान्य समयमा भन्दा चाडपर्वका बेला बिगतदेखि नै खसीबोका निकै महँगो हुने गरेको छ। यसवर्ष पनि शनिबारे हाटमा १० हजार जति पर्ने एउटा खसीको मूल्य १४/१५ हजार रुपियाँ मूल्य राखिएको उपभोक्ताले बताएका छन्। फुङ्लिङ बजारका स्थानीय डिल्ली पौडेलले निक्कै महँगो मूल्य तिरेर आफूलाई आवश्यक खसी खरिद गरेको बताउनुभयो। चाडपर्वका समयमा स्थानीय व्यवसायी तथा किसानले आफूखुसी मूल्य बढाउने गरेका पौडेलको भनाइ छ।

अरु समय अर्थात् नियमित हाटबजारमा १० किलोको खसीबोकालाई आठ हजार रुपियाँ पर्ने गरेकामा चाडपर्वको समयमा भने उक्त तौल बराबरको खसीबोकालाई १२ हजार रुपियाँभन्दा बढी पर्ने फुङ्लिङ नगरपालिका–७ का स्थानीय कमल भट्टराईले बताउनुभयो। भट्टराईका अनुसार चाडपर्वको मौका छोपेर स्थानीय किसान तथा व्यवसायीले आफूखुसी खसीबोकाको मूल्य बढाउने गरेका छन्।

चाडपर्वका बेला जति भने पनि मूल्य लगाउँछन् भनेर स्थानीय बिक्रेताले खसीबोकाको मनपरी मूल्य तोक्ने गरेका उपभोक्ताको आरोप छ। यो मौसममा खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत महँगिएको उपभोक्ता बताउँछन्। प्रतिगोटा तीन हजार रुपियाँसम्ममा पाइने पाठीलाई शनिबारे हाटमा पाँच हजार रुपियाँभन्दा बढीसम्म मूल्य तिर्नुपरेको उपभोक्ताले बताएका छन्। 

दशैँ, तिहारजस्ता चाडपर्वलाई भनेर ग्रामीण क्षेत्रमा भने स्थानीयले घरमै खसीबोका पाल्ने गर्दछन्। यता सहर बजारका बासिन्दाले भने हाटबजार तथा बिक्रेताबाट खरिद गर्नुपर्ने हुँदा महँगो मूल्य तिर्नुपर्ने अवस्था रहेको बताइएको छ। चाडको समयमा मासुका साथै बलि पूजा गर्ने संस्कार रहेकाले आवश्यक खसीबोका तथा पाठापाठीका लागि बिक्रेताले भनेअनुसार मूल्य तिर्नुपर्ने बाध्यता रहको पनि उपभोक्ता बताउँछन्। त्यसो त व्यापार तथा व्यावसायिक योजना राख्ने स्थानीयले पनि चाडपर्वको समयमा राम्रो मूल्य पाउने अपेक्षासहित खसीबोका पाल्ने गरेका छन्। उनीहरूले चाडपर्वको मौकामा राम्रो फाइदा लिनेगरी गाउँघरमा पालेका खसीबोका हाट बजारमा ल्याएर बिक्री गर्ने गर्दछन्। फुङ्लिङमा लाग्ने हाटबजारमा जिल्लाको निघुरादिन, फूलबारी र छिमेकी पाँचथर जिल्लाको अमरपुरलगायत क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गर्दछन्।  

स्थानीय व्यापारीले खसीबोका हाटबजारमा ल्याएर प्रतिकिलोग्राम एक हजारदेखि एक हजार दुई सय रुपियाँसम्म लिनेगरी मूल्य तोक्ने गर्दछन्। यसरी चाडपर्वका बेला बिक्रेताको योजनाअनुसार तौल हेरेर खसीबोकाबाट प्रतिगोटा पाँचदेखि सात हजार रुपियाँसम्म उनीहरूले नाफा लिने गरेका छन्। उपभोक्ता वा खरिदकर्ताले सोहीअनुसार महँगो मूल्य तिर्ने गर्दछन्।