• ७ वैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीद्वारा दमक भ्यू–टावरको निरीक्षण

blog

निर्माणाधिन दमक भ्यू टावर । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असोज १० गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सबैभन्दा अग्लो भनिएको निर्माणाधीन बहुआयामिक दमक भ्यू टावरको निरीक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र ५ अन्तर्गत दमक वडा –३ दाँपगाछीमा निर्माणाधीन भ्यू टावरको निरीक्षण गर्नुभएको हो ।

ओलीले भ्यू टावरको निरीक्षण गर्दै दमकको मात्र नभएर देशको पहिचानयुक्त भ्यू टावर निर्माण भइरहेको बताउनुभयो । पर्यटकीय विकासको एउटा नमुनाको रूपमा यसको पहिचान स्थापित हुनेछ, ओलीले भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटनका लागि यो टावर नमुना बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

भ्यू टावरको शिलान्यास अध्यक्ष ओलीले तीन बर्षअघि गर्नुभएको थियो । १८ तलासम्म कंक्रिटबाट बन्ने भ्यू टावर त्यसमाथि स्टेल पनि रहने बताइएको छ । १८ तलाको कंक्रिट तला निर्माणको अन्तिम चरणमा रहेको छ । यो भ्यू टावरको उचाइ १ सय मिटरको हुने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

३२ हजार ७ सय ११ वर्गमिटरको क्षेत्रफलमा निर्माण भइरहेको छ । भ्यू टावरमा पसल, अफिस, रेस्टुराँ र क्याफे रहने दमक वडा ३ का वडाध्यक्ष नवीन बरालले बताउनुभयो । फराकिलो खाली स्थानको तल्लो तलामा पसलका लागि मुख्य स्थानहरू रहने र भुँइतला कर्पोरेट पार्किङस्थलको रूपमा निर्माण हुनेछ । 

दमक भ्यू टावरमा एकै पटक करिब एक हजार सङ्ख्या अवलोकन गर्न सक्ने बताइएको छ । अत्याधुनिक सपिङ महलसहित स्वीमिङ पुल तथा विभिन्न आकर्षक पानीको फोहोरा समेत निर्माणको काम हुनेछ । दमक ३ को पहिचान र गौरवको रूपमा यसलाई हेरेका छौ, वडाध्यक्ष बरालले भन्नुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले भ्यु टावर बनाउन चिनियाँ कम्पनी जेडसीजीआईईसी सहित आशीष ओम साइराम निर्माण कम्पनी जेभीसँग एक अर्ब ५६ करोड १४ लाखको सम्झौता गरेको छ । कोभिड लगायतका कारणले भ्यू टावर निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको बरालले बताउनुभयो ।