• ११ वैशाख २०८१, मङ्गलबार

लिङ्खिम प्रतिष्ठानद्वारा दृष्टिविहीनलाई कपडा प्रदान

blog

लिङ्खिम प्रतिष्ठानद्वारा दृष्टिबिहीनलाई न्यानो कपडा वितरण गर्न आयोजित कार्यक्रम। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङस्थित भूपू बेलायती आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले दृष्टिविहीनलाई न्यायो कपडा वितरण गरेको छ। प्रतिष्ठानले ताप्लेजुङमा रहेका ३५ जना दृष्टिविहीनलाई न्यानो कपडा (ट्रेक सुट) वितरण गरेको हो।

सदरमुकाम फुङ्लिङमा आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले नेत्रहीन सङ्घ ताप्लेजुङमा आबद्ध रहेका दृष्टिविहीनलाई कपडा वितरण गरेको हो।  यस्तै प्रतिष्ठानले फुङ्लिङ नगरपालिका–७ दोखु निवासी बृखबहादुर पालुङ्गाकी श्रीमती भागिरथाको उपचार सहयोगका लागि ३० हजार रुपियाँ नगदसमेत उपलब्ध गराएको छ। 

लामो समयदेखि मष्तिस्कघात भएर उपचाररत रहनुभएकी भागिरथा पालुङ्गाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नगद उपलब्ध गराएको प्रतिष्ठानका सदस्य दिनेश लिङ्खिमले बताउनुभयो। 

उहाँका अनुसार प्रतिष्ठानले असहाय, समस्यामा परेकालाई सहयोग गर्नुका साथै अन्य सामाजिक कार्यहरू गर्दै आएको छ। २०५३ साल असोज ९ गते निधन हुनुभएका भूपू ब्रिटिस आर्मी लिङ्खिमको स्मृतिमा उहाँका परिवारले प्रतिष्ठान स्थापना गरी सामाजिक कार्य साथै विभिन्न समस्यामा परेका र असहायलाई सहयोग गर्दै आएको बताइएको छ।