• १६ चैत २०८०, शुक्रबार

राप्ती लोकमार्ग जीर्ण

blog

सल्यान समाचारदाता

सल्यान, असोज १० गते । दाङ हुँदै पश्चिमरुकुम जोड्ने राप्ती लोकमार्ग स्तरोन्नति हुन सकेको छैन। तुलसीपुर–सल्यान हुँदै रुकुमसम्म पुग्ने यस सडकको पूरै सडक खण्ड जीर्ण भएको छ। 

अधिकांश सडकमा लगाइएकोे ओटासिल उप्किएको छ। सडकमा ठूलाठूला खाल्डा परेका छन्। मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सहायक सडकको अवस्था पनि उस्तै खराब छ। सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ। 

सडक मर्मतका लागि राप्ती लोकमार्र्गमा बर्सेनि ५० करोड खर्च भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। यो वर्ष पनि मर्मतका लागि ४० करोड बजेट विनियोजन गरिएको छ तर विनियोजित बजेट बालुवामा पानी भएको स्थानीयको आरोप छ।

पहाडी भूभाग र साँघुरो सडक भएकाले सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आएका छन्। सडकको स्तरोन्नति र सरकारी निकायले समयमै मर्मतसम्भार नगर्दा सडक बिग्रिँदै गएको छ।  सल्यान–रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष अरविन्द राईले जीर्ण सडक हुँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो। 

राप्ती लोकमार्ग दाङदेखि सल्यानसम्म ६१ किलोमिटर लामो छ। १० वर्षअघि कालोपत्रे भएको यो सडक अहिले ठाउँठाउँमा जीर्ण छ। यहाँको सडक सुधारका लागि भनी विनियोजन हुँदै आएको बजेट फ्रिज हुँदै आएको छ। नागरिक समाजका अगुवा रामचन्द्र रेग्मीले मुख्य सडकमा विकासको जिम्मेवारी लिएका निकायको लापरबाही देखिएको आरोप लगाउनुभयो। 

उहाँले आफूहरूले पटक–पटक नागरिक गुनासो सम्बन्धित निकायमा उठाउँदा पनि चासो नदिइएको बताउनुभयो। बर्सेनि सडक मर्मतका लागि बजेट विनियोजन हुने गरेको भए पनि काम प्रभावकारी नभएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो। 

उहाँले दाङ–तुलसीपुर–गोठीखोलादेखि रुकुम खारासम्मको सडकखण्ड धेरै जीर्ण भएको बताउनुभयो। उहाँका अनुसार वर्षामा हिलाम्मे र अन्य समय धुलाम्मे सडकमा हिँड्नुपर्ने बाध्यता रहेको छ। सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले ठेकेदारले काममा ढिलाइ गर्दा सडक भनेजस्तो सुधार हुन नसकेको बताउनुभयो।