• ११ मंसिर २०८१, मङ्गलबार

कालोबजारी नियन्त्रण गर्न अनुगमन

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, असोज ७ गते  । कालोबजारी नियन्त्रणका लागि ओखलढुङ्गामा बजार अनुगमनलाई तीव्रता दिइएको छ। चाडपर्वको अवसरमा हुने कालोबजारी साथै अखाद्य वस्तुको बिक्री रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई प्रभावकारी बनाएको छ। चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले प्रहरी, उद्योग वाणिज्य सङ्घ र सरोकारवालाको समूह बनाई सदरमुकाम र जिल्लाका अन्य क्षेत्रका होटल र किराना पसलमा अनुगमन थालेको छ। 

अनुगमनका क्रममा सदरमुकाम बजारबाट ४७ हजार ४८० रुपियाँ बराबरको म्याद गुज्रेका अखाद्य सामग्री फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रेवन्त दाहालले जानकारी दिनुभयो। धेरै जसो चिउरा, चामल, बिस्कुट, चाउचाउ, दालमोठ, कुरमुरे, थुक्पा, फुरनदाना, मसला, मैदा, सोयाबिन, पेय पदार्थ सामान उपभोग गर्ने समय समाप्त भए पनि व्यापारीले बिक्रीका लागि राखेको पाएको उहाँले बताउनुभयो। 

यसका साथै अनुगमन टोलीले मानेभन्ज्याङ गाउँपालिका–६ को जयरामघाट क्षेत्रको बजार पनि अनुगमन गरेको छ। आठवटा किराना पसलमा अनुगमन गर्दा करिब एक लाख रुपियाँ बराबरको म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रशासकीय अधिकृत जनक बस्नेतले जानकारी दिनुभयो। 

यहाँ पनि चिउरा, बिस्कुट, चाउचाउ, दालमोठ, कुरमुरे, फुरनदाना, मसलालगायतका खानेकुराको उपभोग समय सकिएको पाइएको बस्नेतको भनाइ छ। दशैँलगायतका चाड नजिकिएसँगै होलसेल व्यापारीले म्याद सकिएका तथा सकिन लागेका सामान बजारमा पठाउने गरेको उपभोक्ताको गुनासो छ। 

घुर्मीमा म्याद गुज्रेका सामान

उदयपुर जिल्लाको घुर्मी बजारमा सबैभन्दा बढी म्याद सकिएका अखाद्य सामानको बिक्री हुने गरेको सुनकोसी–१ बलखुका हविन्द्र राईले गुनासो गर्नुभयो। उदयपुरको दुर्गम उत्तरी क्षेत्रमा यो बजार अवस्थित रहेको र बजार अनुगमन नहुने भएकाले तराईलगायतका क्षेत्रबाट म्याद सकिएका सामान व्यापारीले यहाँ पठाउँदा उपभोक्ता अखाद्य सामान प्रयोग गर्न बाध्य हुनुपरेको उहाँले जानकारी दिनुभयो। 

घुर्मी बजार ओखलढुङ्गाको मानेभन्ज्याङ र सुनकोसी गाउँपालिकाका खोटाङको पश्चिमी क्षेत्र, सिन्धुलीको पूर्वी क्षेत्र र उदयपुरको उत्तरी भेगका स्थानीयको मुख्य बजार हो। चाडवाडको समयमा अझ बढी मात्राका म्याद सकिएको सामान बिक्री हुने गरेको उहाँको भनाइ छ। यहाँका उपभोक्ताले सामान खरिद गर्दा उपभोग्य समय बाँकी रहे नरहेको नहेर्ने भएकाले व्यापारीलाई म्याद गुज्रेको सामान बिक्रि गर्ने गरेका हुन्।