• ८ वैशाख २०८१, शनिबार

तराईभन्दा पहाडमा डेङ्गुको सङ्क्रमण बढी

blog

कविराज घिमिरे 

हिले, असोज ७ गते ।  पछिल्लो समय प्रदेश १ मा डेङ्गुको सङ्क्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको सङ्ख्या प्रदेश १ मा दिन प्रतिदिन बढिरहेको छ। प्रदेश १ का १४ जिल्लाभरि डेङ्गुका बिरामीको सङ्ख्या ५७९ पुगेको छ। 

यो पटक डेङ्गुको सङ्क्रमण तराईका जिल्लाभन्दा पहाडी र हिमाली जिल्लामा फैलिएको छ। अघिल्ला वर्षमा तराई, उपत्यका जस्ता घना बस्ती भएको स्थानमा बढी देखिने डेङ्गुको सङ्क्रमण यो वर्ष भने पहाडी र हिमाली जिल्लामा बढी देखिएको हो। 

प्रदेश १ को तराईका तीन जिल्लामा १६० जनामा मात्र डेङ्गु देखिँदा पहाडी तथा हिमाली जिल्लामा भने चार सय व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएका छ। प्रदेश १ को तेह्रथुम जिल्लामा सबैभन्दा बढी १२५ जनामा यसको सङ्क्रमण देखिएको छ। अघिल्ला वर्षमा खासै प्रभाव नदेखिएको हिमाली र पहाडी क्षेत्रमा यो पटक डेङ्गु बढेको स्वास्थ्य निर्देशनालय धनकुटाका दिलीप सिंह बताउनुहुन्छ। “हिमाली र पहाडी क्षेत्रका तल्लो क्षेत्रमा डेङ्गु लामखुट्टे बढेसँगै यसको प्रकोप बढेको हो,” सिंह भन्नुहुन्छ। अहिले १८ सय मिटर उचाइसम्म लामखुट्टे पाइने र तल्लो क्षेत्रसँगको आउजाउको कारण पहाडमा बढी फैलिएको शाहले बताउनुभयो। यो सङ्क्रमण फैँलदो रूपमा रहेकाले एडिज जातको लामखुट्टेबाट जोगिनु एक मात्र विकल्प रहेको चिकित्सकको सुझाव छ। “लामखुट्टेबाट जोगियो भने हामी डेङ्गुबाट जोगिन सक्छौँ,” जिल्ला अस्पताल धनकुटा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिष साहले भन्नुभयो। थोरै पानीमा पनि लामखुट्टे हुर्किने भएकाले फोहोर पानी घर वरिपरि राख्नै नहुने उहाँको सुझाव छ।