• १३ साउन २०८१, आइतबार

प्युठानका ८९० उम्मेदवारलाई जरिवाना

blog

सलिम मिया

विजुवार,  असोज ५ गते । स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने प्युठानका जनप्रतिनिधि तथा उम्मेदवारलाई जरिवाना तोकिएको छ ।  उम्मेदवार बनेर तोकिएको समयमै निर्वाचन खर्च विवरण नबुझाएका  ८ सय ९० जनालाई कारबाही स्वरूप जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देवीराम पाठकले जानकारी दिनुभयो । 

जिल्लाका ९ वटा स्थानीय तहमध्ये सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र झिमरुक गाउँपालिका अध्यक्ष पीतबहादुर एमसीले मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण पेस गर्नुभएको थियो । 

जिल्ला निर्वाचन कार्यालय प्युठानका अनुसार ३१ जनाले  समयमै र एक सयजना उम्मेदवारले ढिला गरी खर्च विवरण पेस गर्नुभएको थियो । स्थानीय तहको निर्वाचनमा प्युठानमा ९ सय २१ जना उम्मेदवार बनेकामध्ये ५ सय ९९ जनाले मात्र स्पष्टीकरण पेस गर्नुभएको थियो । बाँकी १ सय ११ जना उम्मेदवार आयोगले सोधेको  स्पष्टीकरणको जवाफ नदिएको कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगको निर्णयअनुसार नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य, दलित, अल्पसङ्ख्यक सदस्यले २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार, वडा सदस्य, महिला सदस्य, दलित, अल्पसङ्ख्यक सदस्यले १ लाख ५० हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।  

निर्वाचित भएको ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने प्रावधान रहेको छ । सो समयभित्र जरिवाना नतिरे जनप्रतिनिधिको पद खारेज हुने निर्वाचन आयोगले जनाएको छ ।