• १४ वैशाख २०८१, शुक्रबार

१२ मिनेट हेलिकोप्टर यात्राको १८ हजार भाडा

blog

सिमकोटबाट सलीसल्लाका लागि यात्रु लैजाने क्रममा सिमकोट बिमानस्थलमा हेलिकोप्टर । तस्बिर: राजन रावत

हुम्ला असोज ५ गते  । सलीसल्लाबाट सिमकोट विमानस्थलसम्म हेलिकप्टरमा यात्रा गर्न १२ मिनेट लाग्छ, यहाँसम्म यात्रा गर्दा हेलिकोप्टर कम्पनीले १८ हजार भाडा लिने गरेको छ । भाडादर निर्धारण भएको छैन, यो मौकामा हेलिकोप्टर कम्पनीले समेत अचाक्ली रूपमा मनपरी भाडा असुल्ने गरेको पाइएको छ । 

उजुरी पर्दा समेत नियामक निकायहरूले कुनै चासो देखाएका छैनन् । केही दिन अगाडी सलीसल्लाबाट हेलिकोप्टरमा सिमकोट आउनु भएका जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले १८ हजार भाडा तिरेको बताउनुभयो । उहाँले एक मिनेट आकाशमा यात्रा गर्दा करिब दुई हजार तिर्नु परेको बताउनुभयो । हुम्लावासीका लागि यो सामान्य नभएको भन्दै तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्नुभयो । 

खाद्य संस्थानको चामल ढुवानी गर्न आएको हेलिकोप्टर सलीसल्लाबाट सिमकोटसम्म गत चैत देखि ढुवानी गर्दै आएको छ । हेलिकोप्टरले कुनै भाडा दर नदेखाउने र आफूखुसी भाडा उठाई रहेको शर्माले बताउनुभयो । छोटो अवधिको बढी भाडा लिने गरेकोले उहाँले स्थानीय प्रशासन मार्फत छलफल गर्न समेत माग गर्नुभयो । 

उक्त स्थानबाट खाद्यान्न ढुवानी गर्दै आएको हेलिकोप्टरले यात्रु पाए एक क्विन्टल खाद्यान्न झारेर यात्रु ओसार्ने गरेको छ । जब कि एक क्विन्टल खाद्यान्न ढुवानी गर्दा हेलिकोप्टर प्रतिकेजी ९६ रुपियाँ लिँदै आएको छ । हेलिकोप्टरले सिमकोटबाट ती दुवै स्थानमा यात्रु ओसार्दा भने छ हजार मात्र भाडा लिने गरेका छन् । हेलिकोप्टर पक्षले भने हेलिकोप्टरको भाडा महँगो पर्ने भएको कारण सबै हिसाब गर्दा सो भाडा लिने गरिएको जनाएको छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।