काठमाडौं, असोज ४ गते । आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जित्नुभएको छ । क्याडेट सिंगल्सको ब्याइजमा एलेन र गर्ल्समा इभाना पहिलो हुनुभएको हो ।
काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई ११–५, ११–७, ११–७ को सोझो सेटमा हराउनुभयो । केकेएम/एनआरटीका शङ्कर पहाडी र एभीएमका अतीत गुरुङ तेस्रो हुनुभयो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको गर्ल्सको स्वर्ण भिडन्तमा इभानाले केकेएम/ एनआरटीकी नर्मदा खाइतुलाई ११–८, ११–६, ११–३ को सीधा सेटमा हराउनुभयो । एभीएमका आर्सना महर्जन र साइरा शाक्य तेस्रो बन्नुभयो ।
प्रतियोगितामा पुरुष/महिला, क्याडेट र जुनियर ब्वाइज/गर्ल्समा सिंगल्स ६ तथा भेट्रानमा ५ गरी जम्मा ११ स्पर्धा समावेश छन् । भेट्रानका ५ स्पर्धा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
जुनियर ब्वाइज/गर्ल्स सिंगल्स (यू–१९) तथा क्याडेट ब्वाइज/गर्ल्स सिंगल्स (यू–१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २५ सय रुपियाँ पुरस्कार हात पार्नेछन् । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।