• १३ साउन २०८१, आइतबार

कटेरोमा विद्यालय सञ्चालन

blog

बाबुराम शर्मा 

चरीकोट, असोज ४ गते । भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कटेरोमै पठनपाठन गर्न बाध्य भएका छन् । 

सरोकारवाला निकायले समयमै चासो नदिँदा अहिले आएर विद्यालय भवन निर्माणाधीन रहेकाले यसरी पढ्नु र पढाउनु परेको प्रधानाध्यापक किशोर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार जस्ताको छानो र बारसमेत रहेकाले विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन साह्रै कठिन छ । कक्षाकोठामा एक अर्काे कोठाको आवाजले बाधा भइरहन्छ । भएको कटेरोमा पनि ठाउँ नपुगेर बिहान र दिवा कक्षा सञ्चालन गर्नुपरेको छ । आधा–आधा घण्टाको कार्यतालिका बनाउनुपर्दा दिइएको पाठ्यभारअनुसार पठनपाठन गर्न सकिएको छैन ।  

नर्सरीदेखि कक्षा १२ सम्मका लागि १५ कोठा आवश्यक हुनेमा आठ कोठा मात्रै छन् । उहाँले भन्नुभयो, “टहरोमा बिहानी कक्षा ९–१२, दिवा ३–८ र पुरानो भवनमा नर्सरी–२ कक्षा सञ्चालन गरिएको छ । जे जस्तो परिस्थिति भए पनि पढाउन बाध्य हुनुपरेको छ ।” 

गत सालबाट एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा तीनकोठे तीनतले दुईवटा नयाँ भवन निर्माण भइरहेको जानकारी दिँदै प्रधानाध्यापक दाहालले भन्नुभयो, “निर्माण कार्यस्थल एकै ठाउँमा छ । रेक्टोफिटिङबाट सञ्चालन गर्न सकिने भनिएको छ कोठे भवन पनि मर्मत सुरु भएको छैन । आगामी फागुन महिनापछि दुवै भवन प्रयोग भएपछि पढाइमा सहजता आउने अपेक्षा गरेका छौँ ।” 

विद्यालयमा भवन अभाव मात्र होइन, शिक्षकको पनि उस्तै अभाव छ । उहाँले भन्नुभयो, “थोरै शिक्षकले १–१२ कक्षा सञ्चालन गर्नुपरेको छ । यो विद्यालयमा माध्यमिक एक, निमाविमा तीन र प्राविमा छ जना शिक्षक स्थायी छन् । माविमा तीन राहत र उमाविमा दुई अनुदानका शिक्षक छन् । न्यून शिक्षकले मुस्किलले विद्यालय धानिएको छ । विद्यालयमा ३२८ विद्यार्थी अध्ययनरत छन् ।”