• १ जेठ २०८१, मङ्गलबार

मन्त्री खड्का महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी

blog

परराष्ट्रमन्त्री डा. नारायण खड्का : फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ३ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ  द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुनुभएको छ ।

अन्त्येष्टिमा सहभागी भएपछि उहाँ युनाइटेड किंगडमका विदेश, राष्ट्रमण्डल र विकास मामिला मन्त्रीले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो । सो जानकारी लण्डनस्थित नेपाली राजदूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


बेलायतका मानिसले विभिन्न तरिकाले दिवङ्गत महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गरे । तस्बीर बीबीसी

आइतबार उहाँले वेस्टमिन्स्टर हलमा लिङ-इन-स्टेट अफ हर म्याजेस्टी द क्वीनमा भाग लिनुभयो । उहाँले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्नुभयो र बकिंघम प्यालेसमा द किंग्स रिसेप्शनमा भाग लिनुभयो ।

सो अवसरमा मन्त्री खड्काले शाही परिवारका केही सदस्य, बेलायती प्रधानमन्त्री, पूर्व बेलायती प्रधानमन्त्री, बेलायती विदेश सचिव र बेलायती क्याबिनेट मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभयो ।

मन्त्री डा. खड्काले यस क्षेत्र र विश्वभरका नेता तथा मन्त्रीहरुसँग पनि संक्षिप्त कुराकानी गर्नुभएको जानकारी पनि दूतावासले दिएको छ ।

उहाँका साथमा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र सहसचिव सेवा लम्साल सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री मंगलबार बिहान लण्डनबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।