• १३ साउन २०८१, आइतबार

समस्यामा हेटौँडा सिमेन्ट

कोइला नहुँदा डेढ महिनादेखि उत्पादन बन्द

blog

राममणि दाहाल 

हेटौँडा, असोज ३ गते । विभिन्न समस्याले गर्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा समस्या आएको छ । कोइला आपूर्तिमा समस्या आएपछि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन डेढ महिनादेखि बन्द छ । 

पानी परेकाले कोइला आपूर्तिमा समस्या भएको र केही दिनभित्रै कोइला आपूर्ति हुने उद्योगका प्रवक्ता अशोक गौतमले बताउनुभयो । कोइला अभावसँगै उद्योगको किलमा (क्लिङ्कर बनाउने ठाउँ) समस्या आएको छ भने उद्योगमा करिब ४० हजार बोरा सिमेन्टको क्लिङ्कर मौज्दात छ ।

अहिले कोइला आपूर्ति सुरु भइसकेको र आठ सय टनजति आएको प्रवक्ता गौतमले जानकारी दिनुभयो तर सो उद्योगलाई एक महिनालाई तीन हजार टन आवश्यक पर्ने र त्यति कोइला आइनपुगी उद्योग सञ्चालन नहुने बताइएको छ । उद्योगले अबको दुई सातामा उद्योगमा तीन हजार टन कोइला आइपुग्ने अनुमान गरेको छ । 

अबको दुई सातासम्ममा तीन हजार टन कोइला आपूर्ति भए दशैँपछिबाट उद्योग सञ्चालन गर्न सकिने प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

यस्ता दैनिक व्यवस्थापकीय समस्यादेखि दीर्घकालीन रणनीति र व्यापार नीतिको अभावमा पनि हेटौँडा सिमेन्ट उद्योग समस्यामा छ ।

उत्पादन र बजार प्रवद्र्धन नीतिको अभावमा यो उद्योगको नोक्सानी बर्सेनि बढ्दो छ । उद्योग लामो समयसम्म बन्द हुने र उत्पादन नै नहुनेदेखि उत्पादन भएको सिमेन्ट पनि बिक्री गर्न नसक्ने समस्या लामो समयदेखि रहँदै आएको छ ।

बिक्री प्रवद्र्धन नीतिको अभावमा नै निजी उद्योगका उत्पादनभन्दा महँगो परेकाले माग घटेको छ । अरू उद्योगसँग मूल्य र बजार रणनीतिसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको हेटौँडा सिमेन्ट उद्योगमा आन्तरिक समस्यासमेत बढ्दै गएको छ ।

प्रवक्ता गौतमले निजी क्षेत्रका उद्योगको सिमेन्टभन्दा हेटौँडा सिमेन्टको मूल्य बढी भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न नसकी बिक्री नहुने समस्या रहेको बताउनुभयो । उद्योगले बिक्री प्रवद्र्धनकै लागि विक्रेतालाई बैङ्क ग्यारेन्टीका आधारमा सिमेन्ट बिक्री गर्ने नीति बनाए पनि कतिपय विक्रेता फर्मले सिमेन्ट नउठाउँदा उत्पादनअनुसार बिक्री हुन सकेको छैन । 

बैङ्क ग्यारेन्टी राखेका व्यापारीले प्रतिबद्धताअनुसारको सिमेन्ट नलैजाँदा बिक्रीमा समस्या भएको छ । उद्योगका अनुसार बैङ्क ग्यारेन्टी गरेका २६ फर्ममध्ये १० वटाले प्रतिबद्धताअनुसार सिमेन्ट लगेका छैनन् । 

मूल्य प्रतिस्पर्धी भएन

निजी उद्योगको तुलनामा हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट महँगो भएपछि बिक्री पनि घटेको छ । तत्कालीन महाप्रबन्धक प्रेमशङ्कर सिंहले आफ्नो पदावधि सकिएर जाने बेलामा गत माघ १ देखि लागू हुने गरी सिमन्टको मूल्य वृद्धि गर्नुभएको थियो । हेटौँडा सिमेन्टको उद्योग द्वार मूल्य ५० केजीको प्रतिबोरा ७४६.९३ रुपियाँ रहेको छ ।

स्थानीय बजारमा शिवम् सिमेन्टको मूल्य प्रतिबोरा ७१०, रिद्धिसिद्धिको सात सय र हेटौँडा सिमेन्टको ७७५ रुपियाँमा बिक्री हुँदै आएको छ । हेटौँडामा हेटौँडा सिमेन्टसहित तीनवटै उद्योगको सिमेन्ट बिक्री गर्दै आएको राष्ट्रसेवक सहकारी संस्थाले निजी क्षेत्रका सिमेन्ट उद्योगले क्रेताअनुसार मूल्य निर्धारण गरी बिक्री गर्ने गरेको जनाएको छ ।

क्षमताभन्दा कम उत्पादन

शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको हेटौँडा सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता ५२ लाख बोरा रहेकोमा आव २०७७÷७८ सम्म वार्षिक ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राख्ने गरेको थियो । 

लक्ष्यअनुसार सिमेन्ट उत्पादन गर्न नसकेपछि उद्योग व्यवस्थापनले गत आर्थिक वर्षबाट वार्षिक उत्पादन लक्ष्य २५ लाख बोरामा झारेको छ तर पछिल्लो पटक निर्धारण गरेको लक्ष्यसमेत उद्योगले गत आर्थिक वर्षमा पूरा गर्न सकेन ।

आव २०७७/७८ मा १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट उत्पादन गरेको उद्योग उद्योगले गत आर्थिक वर्ष १६ लाख १३ हजार ९६४ बोरा मात्र उत्पादन गरेको उद्योगले जानकारी दिएको छ ।

सञ्चित नोक्सानी ७८ करोड

आव २०७६/७७ मा हेटौँडा सिमेन्ट उद्योगको खुद नोक्सान १७ करोड चार लाख २२ हजार रुपियाँ रहेको र सञ्चित नोक्सान ७८ करोड ८७ लाख २२ हजार रुपियाँ पुगेको अर्थ मन्त्रालयको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०७९ मा उल्लेख छ । 

यस्तै उद्योगले नेपाल सरकारलाई बुझाउनुपर्ने ऋण १२ करोड र ब्याज एक करोड नौ लाख २० हजार रुपियाँ रहेको छ ।