• १३ साउन २०८१, आइतबार

पहिरोमाथिको लाप्ची गाउँ

blog

बाबुराम शर्मा 

चरीकोट, असोज २ गते । दोलखाको लामाबगर गाउँपालिका–१ मा रहेको दुर्गम लाप्ची गाउँमा विकासका कुनै पूर्वाधार पुग्न नसक्दा स्थानीयले कठिनाइपूर्ण जीवनयापन गर्नुपरेको छ । सञ्चारको अभावमा कोही बिरामी परे आफन्तलाई फोनबाट खबर दिनसमेत तीन दिन हिँडेर लामाबगर पुग्नुपर्छ । स्थानीय कर्मा शेर्पाले भन्नुभयो, “गाउँमा मोबाइलको नेटवर्क टिप्दैन। फोन गर्नकै लागि पहिरो छिचोल्दै तामाकोसीको भीर भएर हिँड्नुपर्छ, त्यो पनि हिउँदमा मात्रै ।” 

वर्षा र हिमपातको हरेक छ महिना लाप्ची नाकाबन्दी भोग्न बाध्य बनेको छ। स्वास्थ्य, शिक्षा, बिजुली, बाटो नभएको यो गाउँमा बिरामी अस्पताल पु¥याउन हेलिकोप्टरबाहेक अर्को विकल्प छैन । आर्थिक अवस्था मजबुत हुनेले हेलिकोप्टर चार्टर गरेर काठमाडौँ गए पनि नसक्नेले उपचार नपाएरै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीय कर्मा शेर्पाले बताउनुभयो ।

२०७२ को भूकम्पले विद्यालय भवन भत्किएपछि गाउँमा पढाइ हुन छाडेको छ। पढाइका लागि लामाबगर आउनुपर्ने भएपछि लाप्ची गुम्बा व्यवस्थापन समितिले बालबालिकालाई २०७४ सालदेखि काठमाडौंको विद्यालयमा भर्ना गरिदिएको छ। गाउँमा फोन नलाग्ने भएकाले अभिभावकले महिनौँदेखि आफ्ना छोराछोरीको खबरसमेत बुझ्न नपाएको गुनासो गरेका छन् । लाप्चीवासीको मुख्य बजार चीनको फलाक हो। कर्माले भन्नुभयो, “तीन वर्ष भयो सीमा बन्द भएर फलाक नगएको । हाम्रो मुख्य आम्दानीको स्रोत चौँरीपालन हो। मुख्य बजार नै बन्द भएपछि तीन वर्षदेखि एक पैसो आम्दानी भएको छैन ।”

चीनले कोरोनाको कारण देखाउँदै बन्द गरेको नाका अझै खुलेको छैन । सीमा जोडिएको लाप्चीमा ४६ घरपरिवारका १५० जना बस्छन् । उनीहरूले करिब पाँच सय याकचौँरी पालेका छन् । आम्दानी भनेकै घिउ, छुर्पी बेचेर आउने पैसा हो। सीमा बन्दले घरखर्च धान्न पनि मुस्किल भयो, डोल्मा शेर्पाले दुखेसो पोख्दै भन्नुभयो, “यसरी नाका बन्द भएपछि खाद्यान्न लिन स्थानीय लामाबगर झर्ने गरेका छन् । तीन वर्षदेखि आम्दानी छैन । कसरी खाद्यान्न जोहो गर्ने? सरकारका मान्छेले लाप्चीमा पाइला टेक्दैनन् । कता गएर एक छाकका लागि गुहार माग्ने हो ?” 

पहिरो छिचोल्दै एक–अर्काको हात समातेर तीन दिनमा लाप्चीवासी खाद्यान्न लिन लामाबगर आइपुग्छन् । याक चौँरीलाई पनि पिठो, नुन किन्न सकिएको छैन । डोल्माले भन्नुभयो, “सीमा बन्द भएपछि आर्थिक अवस्था राम्रा भएकाले गाउँ छाडे, हामी कमजोर मान्छे कता जाने के गर्ने? अलमलमा छौँ ।” 

माथिल्लो भेगमा हिमपात भएपछि चौँरी धपाएर लाप्चीवासी लुम्नाङ झर्छन्। खाद्यान्न ढुवानी गर्न पनि आकाश हेर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै आङदावा शेर्पाले भन्नुभयो, “वर्षा मौसम सकिन लाग्यो, घरमा खाद्यान्न पनि रित्तिँदै छ । सीमा बन्द नहुँदा चौँरीबाट हुने उत्पादनले प्रतिघर वार्षिक पाँचदेखि १५ लाख रुपियाँसम्म आम्दानी हुने गथ्र्याे।” सरकारले यहाँका बासिन्दाका लागि सहयोग नगरेको स्थानीय कर्मा वाइसर शेर्पाले गुनासो गर्दै भन्नुभयो, “अहिले लामाबगरबाट प्रतिकेजी सय रुपियाँ तिरेर खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ ।”

उहाँले भन्नुभयो, “उत्तरतर्फको बजारमा चिनियाँ पक्षले जान दिँदैन । भीरको बाटो पहिरो छिचोल्दै नेपालबाटै महँगो भाडा तिरेरै खाद्यान्न लानुपर्छ ।” सीमा खुला भएको भए तीन÷चार महिनाका लागि मात्रै खाद्यान्न जोहो गरे हुन्थ्यो । उहाँले भन्नुभयो, “यता याक र घोडाबाट खाद्यान्न लिएर आउथ्यौँ ।” चीनको फलाकसँगै कुती लाप्चीवासीको लत्ता कपडादेखि सबै सामान किन्ने बजार हो।