• १७ जेठ २०८१, बिहिबार

हुँदै नभएको जग्गा बिक्री गर्ने थुनामा

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असोज १ गते  । काभ्रेपलाञ्चोक जिल्ला अदालतले हुँदै नभएको जग्गा बिक्री गर्ने तथा जग्गा बिक्री गरी ठगी गर्न सघाउने कसुरमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले हुँदै नभएको जग्गा बिक्री गर्न सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न लेखापढी व्यवसायी रविप्रसाद रेग्मी, मालपोत कार्यालयका कर्मचारी सतीश भण्डारी र रामविनय यादवलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो । 

यसैगरी सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न इन्जिनियर निर्मल लामा स्याङ्तानलाई दुवै मुद्दामा ७५÷७५ हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतकी सूचना अधिकारी अप्सरा चापागाईंले जानकारी दिनुभयो । उहाँले स्याङ्तानले बिहीबार नै धरौटी बुझाएर रिहा भएको र अन्य तीन जनालाई थुनाका लागि कारागार पठाइएको बताउनुभयो । चापागाईंका अनुसार सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न भई फरार रहेका लेखापढी कानुन व्यवसायी राजन थापा, सीताकुमार थापा, रामचन्द्र श्रेष्ठ र अर्जुनकुमार हुमागाईंलाई पक्राउ पुर्जी जारी गरिएको छ । रेग्मीले हुँदै नभएको जग्गा बिक्री गरेको, मालपोत कार्यालय कर्मचारीद्वय भण्डारी र यादवले पुर्जाका लागि आवश्यक पर्ने फोटो खिचाउँदै मोठ भिडाउन सहयोग गरेको र इन्जिनियर स्याङ्तानमाथि नापी कार्यालयले गर्ने कित्ताकाट गरी प्लट तयार गरेको अभियोग छ । 

रेग्मीले साबिक बनेपा नगरपालिका–१, चाइना टाउन हाल बनेपा नगरपालिका–५ का गोपीचन्द्र शाहीलगायत छ जना व्यक्तिको नाममा रहेको विभिन्न कित्ताको जग्गा आफ्नो नाममा रहेको छ भनी नक्कली कागजपत्र बनाई जग्गा किनबेचका लागि रकम बैना लिई ठगी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको थियो । 

रेग्मीले आफूहरूलाई बिक्री गरेर दिएको जग्गाधनी प्रमाण पुर्जाको स्रेस्ता कायम नभएको र आफूहरू ठगिएको भन्दै गणेश मैनाली, रीता तिमल्सिना, रुकमणि हुमागाईं, निर्मला उप्रेती र पुण्यवती श्रेष्ठले प्रहरीकोमा उजुरी दर्ता गराउनुभएको थियो । हुँदै नभएको जग्गा बिक्री गरी ठगी आरोपमा पक्राउ परेका रेग्मीविरुद्ध २०६८ असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९ चैत १० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा ठगी मुद्दामा मुद्दा दर्ता भएको प्रहरी अभिलेखमा देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।