काठमाडौँ, असोज १ गते । निर्वाचन आयोगले मृतक तथा दोहोरिएका करिब दुई लाख १६ हजार मतदाताको नाम हटाएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा उक्त सङ्ख्यामा मृतक तथा दोहोरिएका मतदाताको नाम हटाइएको हो।
आगामी निर्वाचनका लागि आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ। यसअघि स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “स्थानीय निर्वाचनपछि नामावली दर्ता सुरु गर्दा करिब चार लाख ७१ हजार नयाँ मतदाता थपिए, जसअनुसार कुल एक करोड ८२ लाख मतदाता पुगेकोमा अद्यावधिकपछि एक करोड ७९ लाख ८८ हजार ५७० जना कायम भएका छन्।”
आयोगले चुनावको मिति घोषणा भएको दिन साउन १९ गतेसम्म नाम दर्ता गरेको थियो। तर चुनावको अघिल्लो दिन मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा गरेकाको नाम नामावलीमा सूचीकृत भएका छन्। आयोगका अनुसार आगामी चुनावमा ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष तथा १८५ अन्य मतदाता भाग लिन पाउनेछन्।
स्थानीय निर्वाचनपछि गोरखापत्र दैनिकले मृतक र दोहोरिएका मतदाताको सङ्ख्या करिब छ लाख हुनसक्ने भन्दै समाचार प्रकाशन गरेको थियो। आयोगको मतदाता सूचीमा सात वर्षअघि नै मृत्यु भएका मतदाताको नामसमेत फेला परेको थियो। लगत्तै आयोगले मतदाता नामावलीबाट मृतक र दोहोरिएका मतदाताको नाम हटाउन निर्देशन जारी ग-यो। यद्यपि मृतक र दोहोरिएका मतदाताको नाम अझै पनि पूर्णरूपमा हटेका छैनन्। आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “मृतकका परिवार र दोहोरिएका व्यक्तिले दिएको निवेदनका आधारमा नामावली अद्यावधिक गरिएको हो, निवेदन नपरेकाको नाम अझै पनि सूचीमा हुन सक्छ।”
दुई लाखभन्दा बढी मतदाताको नाम हटे पनि स्थानीय निर्वाचनको भन्दा आगामी निर्वाचनमा दुई लाख ५४ हजार ७९७ मतदाता थपिएका छन्।
आयोगले मतदाताको सङ्ख्या र मतदान केन्द्रसम्म पहुँचको आधारमा मतदानस्थल र मतदान केन्द्रको सङ्ख्यासमेत पुनरवलोकन गरेको छ। आयोगका अनुसार आगामी निर्वाचनमा १० हजार ८९१ मतदान स्थलअन्तर्गत २२ हजार २२६ मतदान केन्द्र स्वीकृत गरिएको छ। यसअघि स्थानीय निर्वाचनमा १० हजार ७५१ मतदानस्थल र २१ हजार ९५५ मतदानकेन्द्र थिए।