• १३ साउन २०८१, आइतबार

कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य

blog

मुना हमाल
सुर्खेत, भदौ ३१ गते ।
कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभाको दशौंं अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोही अनुसार प्रदेश प्रमुख तिलक परियारले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश सभा सचिवालयका उपसचिव (कानुन) तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।

दशौं अधिवेशन अन्त्यसँगै कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल लगभग पनि सकिएको छ । अब प्रदेश सभाको अधिवेशन बस्दैन । अर्को कार्यकालका लागि आगामी मङ्सिरमा निर्वाचन हुँदैछ । दशौँ अधिवेशनको अवधिसम्म प्रदेश सभाको २१५ पटक बैठक बसेको छ ।

प्रदेश सभाले पहिलो वर्षमै प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर टुङ्ग्याएको थियो । यस अवधिमा केही महत्त्वपूर्ण विधेयकहरु प्रदेश सभाले पारित गरेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा कानुन निर्माण गरेको छ । पहिलो कार्यकालमा अध्यादेशसहित प्रदेशसभामा ८३ वटा विधेयक दर्ता भएका थिए । अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक लगत कट्टापछि खुद विधेयक सङ्ख्या ६४ थियो ।

अधिवेशन अन्त्य भए पनि प्रदेश सभा सदस्यहरुको कार्यकाल कहिलेसम्म रहने भने प्रष्ट छैन । सभामुख राजबहादुर शाहीले कहिलेसम्म हुने भन्ने प्रष्ट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कहिलेसम्म हुन्छ भन्ने प्रष्ट छैन । कानुन बनाउनुपर्ने थियो । अहिले कानुन नबनेकाले कहिलेसम्म हुने भन्नै छैन । निर्वाचनको नोमिनेसनसम्म हुने की भन्ने आ–आफ्नै बहस भइरहेका छन् ।’’

अब निर्वाचन नहुने समयसम्म प्रदेश सभा सचिवालयले प्रशासनिक कामहरु गर्ने छ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सचिवालयले अब प्रशासनिक गतिविधि गर्ने जानकारी दिनुभयो । उहाँले अब सभाले गरेका कामहरु बेवसाइडमा राख्ने, प्रतिवेदनहरु व्यवस्थित गर्नेलगायतका काम गर्ने बताउनुभयो ।