• १२ मंसिर २०८१, बुधबार

सामाजिक उत्थानका आयोग सक्रिय

blog

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले सबै नेपालीको हक, अधिकार समान हुने बताउँदै दलित, मधेशी, अपाङ्गता, पिछडिएको वर्गको उत्थानका लागि आयोगले माध्यमका रूपमा काम गर्ने बताउनुभएको छ। 

राष्ट्रिय समावेशी आयोग, सेभ द चिल्ड्रेन तथा गैरसरकारी संस्थाहरूको सङ्गठन (ऐन)द्वारा बिहीबार राजधानीमा आयोजित संवाद कार्यक्रममा उहाँले अझै पनि विभेद गर्दै पछि पारिएका वर्गलाई नेतृत्व तहमा ल्याउन आयोगले विभिन्न तालिम, सर्वेक्षण, अनुगमनलगायतका गतिविधिमा सहभागी गराएर जागरुक बनाउँदै आएको बताउनुभयो। 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले एकल महिलाको सशक्तीकरणको क्रममा सर्लाही र महोत्तरी पुग्दा दुई जिल्लामा ५७ जना बैकल्या तथा एकल महिला भेटिएको बताउनुभयो । 

उहाँले तराईमा सानै उमेरमा किशोरकिशोरीको गौना (विवाह छिन्ने) कार्यक्रम हुने र केही कारणले विवाहपूर्व नै पतिको निधन भए बैकल्या घोषणा गरेर समाजमा अन्यायपूर्ण जीवन बाँच्न बाध्य पारिने बताउनुभयो । कार्यक्रममा महोत्तरी, पिपराकी पिङ्कुकुमारी दासले सो क्षेत्रका स्कुल, कलेज तथा पानीका धारा, पसललगायतमा हालसम्म पनि छुवाछूतको भेदभाव हुने बताउनुभयो।