• १३ वैशाख २०८१, बिहिबार

बौद्ध शिक्षा पढ्न भन्दै भारत पुगेका १६ बालबालिकाको उद्धार

blog

बौद्ध शिक्षा अध्ययन गर्न भन्दै भारतबाट उद्धार गरिएका बालकहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, भदौ ३० गते ।
 बौद्ध शिक्षा पढ्न भन्दै भारत पुराइएका १६ जना बालकको उद्धार गरिएको छ । शान्ति पुनर्स्थापना गृह नेपाल र भारत देहरादुनको हेल्थ क्रस संस्थाको सहयोगमा भारतको कर्नाटकको बौद्ध विहार पुराउन लगेको अवस्थामा उत्तर प्रदेशबाट ती बालकको उद्धार गरिएको हो ।

हेल्थ क्रसका सचिव विशाल थापाका अनुसार नेपालबाट अवैध रूपमा बालक ल्याउँदै गरेको सूचनाको आधारमा बालकको उद्धार भएको बताउनुभयो । सूचना पाए लगत्तै भारतीय रेल्वे सुरक्षा फौजलाई जानकारी दिए पछि बीच बाटोबाट उद्धार गरिएको थियो । १० दिन अगाडि उद्धार गरी भारतीय बाल कल्याण गृहमा राखिएको थियो । त्यसपछि उद्धार गरी नेपाल ल्याइएको उहाँले बताउनुभयो ।

उद्धार गरिएका बालकलाई बाल दिवसको दिन (बुधवार) नेपाल ल्याइएको शान्ति पुनर्स्थापना गृहका कार्यकारी निर्देशक सुमन सापकोटाले बताउनुभयो । कृष्णनगर नाका हुँदै नेपाल आएका ती बालकलाई अपराध अनुसन्धान ब्युरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ ।

उद्धार गरिएका बालकमध्ये नुवाकोटका १० जना, कैलालीका एक जना र रसुवाका पाँच जना रहेका छन् । बौद्ध शिक्षा पढाउनका लागि भन्दै भारत पुराइएको बाल बालिकाको सङ्ख्या धेरै हुन सक्ने भएकाले खोजी कार्यलाई बढाउने गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।

उद्धार गरिएका नुवाकोटका एक बालकले पढाई राम्रो हुने, लुगा समेत राम्रो हुने बताएपछि आमासँग कुरा गरी पढ्न गएको बताउनुभयो । एक जना तिब्बती गुरु र एक जना नेपाली गुरुले पढ्न पठाएको ती बालकको भनाइ छ ।

उद्धार गरिएकामध्ये एक जना १६ वर्षमा छन् भने बाँकी १५ जना ६ देखि १५ वर्षसम्म रहेको इलाका प्रहरी कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले बताउनुभयो । थप छ जनाको अझ उद्धार हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।