काठमाडौँ, भदौ २९ गते । विशेष अदालतले कृषि विकास बैङ्क मुख्य शाखा कार्यालय न्युरोडको टेलर सहायक दीपिका रेग्मीसहित दुई जनालाई दोषी ठहर गरेको छ। बैङ्कको रकम हिनामिनामा अदालतले रेग्मी तथा सेनाका अवकाश प्राप्त सहायक रथी रमेशराज विष्टलाई दोषी ठहर गरेको हो।
अदालतले रेग्मीलाई आठ वर्ष कैद र बिगोअनुसार जरिवाना तोकेको छ। रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ७४७ रुपियाँ जरिवाना निर्धारण भएको छ भने विष्टलाई अदालतले चार वर्ष कैद र ३१ लाख ६८ हजार ८६४ रुपियाँ जरिवाना निर्धारण गरेको छ। बिगोको हकमा बैङ्किङ कसुरमा उच्च अदालत पाटनले यसअघि नै दुवैलाई दोषी ठहर गर्दा निर्धारण भइसकेको छ।
अदालतले दुवैलाई भदौ ७ गते नै दोषी ठहर गरेको थियो। सजाय निर्धारण भने सोमबार गरेको हो। विशेष अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले टेलर रेग्मी र विष्टलाई दोषी ठहर गरेको हो। विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले प्रतिवादी आठमध्ये छ जनाले सफाइ पाएको बताउनुभयो। दुई जनाको हकमा मात्र कैद र बिगोअनुसारको जरिवाना भएको भट्टराईले बताउनुभयो। न्युरोड शाखाबाट अनधिकृत रूपमा रकम निकाली बैङ्कलाई गैरकानुनी रूपमा हानिनोक्सानी पु¥याउने उद्देश्यबाट काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
रकम निकाल्ने कार्यमा मिलेमतो गरेको आरोपमा रेग्मी र विष्टसहित अख्तियारले प्रेमहरि ढुङ्गेल, गोपाल गिरी, तारानाथ पाण्डे, प्रकाश घतानी र महेश्वर मरहट्ठालाई विशेषमा मुद्दा दायर भएको थियो। अदालतले रेग्मी र विष्टबाहेक अन्य छ जनालाई भने सफाइ दिएको छ।