• १० मंसिर २०८१, सोमबार

खप्तडबाट फर्केपछि

खप्तडको सौन्दर्य (फोटो फिचर)

blog

डिलबहादुर सिंह
सिलगढी, भदौ २८ गते ।
सुदूरपश्चिम प्रदेशका चार जिल्ला अछाम, बझाङ्ग, डोटी र बाजुराको संगमस्थलको रूपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । खप्तड क्षेत्र फराकिला पाटन, रङ्गीचङ्गी फूल र सुन्दर भू–बनोटमा अवस्थित छ ।


खप्तड क्षेत्र जैविक विविधता र धार्मिक आस्थाका हिसाबले महत्त्वपूर्ण गन्तव्य हो । खप्तड २२५ वर्ग किलोमिटरमा फैलिएको छ । यस क्षेत्रमा रहेका त्रिवेणी, खप्तडदह, सहस्रलिङ्ग, नागढुङ्गा, खापरमाण्डौंलगायतका स्थानलाई हिन्दुका लागि पवित्र तीर्थस्थलका रूपमा लिइन्छ ।

यी ठाउँमा गङ्गा, दशहरा, जनैपूर्णमा, भदौ शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) जस्ता धार्मिक पर्वमा मेला लाग्ने र पूजाआजा हुने गरेको छ । यस क्षेत्रमा हजारौँको सङ्ख्यामा तीर्थयात्री भेला भएर मेला भर्ने गर्दछन् । खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन् । बाघ बुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो ।


हिउँद याममा हिउँमुनि लुक्ने खप्तड वसन्त ऋतुदेखि वर्षायाममा रङ्गीचङ्गी फूलको विशाल बगैँचा जस्तै देखिने गर्दछ । प्राकृतिक सौन्दर्य र धार्मिक तीर्थस्थलका रूपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । पौराणिक कालमा ऋषिमुनिले तपस्या गरेको पवित्र क्षेत्रका रूपमा समेत खप्तडलाई लिने गरिन्छ । स्कन्द पुराणमा खेचरादी पर्वतका नामले खप्तड क्षेत्रको वर्णन गरेको पाइन्छ ।


एकै पटकमा हेर्न नभ्याउने विशाल फाँट रहेका छन् । खप्तड प्राकृतिक सुन्दरताको मापन गर्दा स्वर्गको टुक्रा जस्तै हो । खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँट छन् ।

यस क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुञ्ज स्थापना गरिएको छ । निकुञ्ज भित्र ५६७ थरिका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी किसिमका चरा पाइने  गरेको बताइन्छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरसम्मको उचाइमा खप्तड रहेको छ । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । खप्तड यात्राका क्रममा आसपासका गाउँमा स्थानीय जीवनशैली र खानपानको समेत आनन्द लिन सकिन्छ ।


खप्तड क्षेत्र खप्तडबाबा अर्थात् स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र भूमि हो । खप्तड बाबाले खप्तडमा करिब ५० वर्ष बिताउनु भएको थियो । खप्तडबाबा आध्यात्मिक गुरु र दार्शनिकका रुपमा चिनिनुहुन्छ । खप्तड क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्रको रुपमा विकास गर्नुपर्नेमा धेरैको जोड छ । पछिल्लो समयमा खप्तड घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको छ ।