• १३ असोज २०८१, आइतबार

मन्त्रीलाई निर्वाचन प्रचारमा रोक लगाउनु हुँदैन : नेता श्रेष्ठ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २७ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ । बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले निर्वाचन प्रचार प्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उहाँको भनाइ छ ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेता श्रेष्ठले सो कुरा बताउनुभयो । निर्वाचन आयोगले राज्यको स्रोत साधनको दूरुपयोग हुन नदिन  निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने उहाँको सुझाव छ । “पोलिटिकल लिडरहरू नै मन्त्री हुने भएकाले निर्वाचन प्रचार प्रसारमा रोक लगाउने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गर्न मिल्दैन” नेता श्रेष्ठले थप्नुभयो, “मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरूले चुनाव प्रचार–प्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो । यो कुरा मिल्दैन ।”

राजनीतिक दलका नेताहरू मन्त्री हुने तर मन्त्रीहरूले चुनाव प्रचार प्रसार गर्न नपाइने भन्नु तर्क संवत् नभएको उहाँले बताउनुभयो । “मन्त्रीले चुनाव प्रचार प्रसार गर्न नपाउने भन्ने पनि हुन्छ र ?” नेता श्रेष्ठले भन्नुभयो, “यो नमिल्ने कुरा हो, यो कुरा चाहिँ सच्याउन जरुरी छ ।”