• १५ असार २०८१, शनिबार

जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त) बीच चुनावी तालमेल गर्ने सहमति

blog

काठमाडौं, भदौ २७ गते । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।

सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औपचारिक जानकारी गराएका हुन् । सहमति अनुसार नेकपा (संयुक्त)ले पनि जनता प्रगतिशील पार्टी, नेपालको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुनेछ ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल गर्दै अघि बढ्ने योजना अनुसार नेकपा (संयुक्त) सँग सहमति भएको स्पष्ट पार्नुभयो ।

उहाँले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरूले स्वीकार गरेर जाने पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरूले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय लिएको बताउनुभयो । निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरुबीच सहमति भएको उहाँको भनाइ छ ।

दुवै पार्टीको सहमतिमा मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नामावली तय गर्ने सहमति पत्रका उल्लेख गरिएको छ ।