• २६ पुस २०८१, शुक्रबार

निर्वाचन सुरक्षा प्रभावकारी बनाउन प्रधान सेनापतिको निर्देशन

blog

उच्च अधिकारीसहित देशभरका युनिट था एकाइलाई एकसाथ सम्बोधन गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्मा । तस्बिर : नेपाली सेना

काठमाडौं, भदौ २७ गते । प्रधान सेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रधान सेनापति शर्माले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

प्रधान सेनापतिको पद बहाली गरेको एक वर्ष पूरा गरेको अवसरमा सेनापति शर्माले सेनाका उच्च अधिकारीसहित देशभरका युनिट वा एकाइलाई एकसाथ सम्बोधन गर्नुहुँदै निर्वाचन सुरक्षार्थ सेनालाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

सरकारले निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ सुरक्षा र मतपत्र तथा मतपेटिका विकट एवम् संवेदनशील क्षेत्रमा पुर्‍याउने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको छ । सोहीअनुसार मतपत्र छपाइ स्थल जनक शिक्षा सामग्री केन्द्रमा सुरक्षार्थ सैनिक खटिसकेका छन् । विस्फोटक पदार्थ निष्क्रिय गर्ने र मतदानस्थलको बाहिरी सुरक्षाको जिम्मेवारी सेनालाई तोकिएको छ ।

सेनापति शर्माले प्राप्त जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गरी व्यावसायिकता प्रस्तुत गर्नसमेत निर्देशन दिनुहुँदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको सूक्ष्म विश्लेषण गरी चनाखो अवस्थामा रहन निर्देशन दिनुभयो ।

नेपाली सेना जनताको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको धारणा व्यक्त गर्नुहुँदै उहाँले सेनाको थप सुदृढीकरण तथा सबलीकरण समयक्रम अनुसार भइरहेको बताउनुभयो । सेनापति शर्माले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना समय सीमाभित्रै निर्माण सम्पन्न गर्नसमेत निर्देशन दिनुभयो ।

प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापनदेखि द्वन्द्वग्रस्त मुलुकको शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभावलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्रशंसा भएको उहाँले उल्लेख गर्नुभयो । उक्त अवसरमा उहाँले नेताहरूको पठन सङ्ग्रहको विमोचन  गर्नुभयो ।